Sunday, October 20, 2013

बाह्र वर्षपछि बराहक्षेत्रमा पूर्णकुम्भ

बाह्र वर्षपछि बराहक्षेत्रमा पूर्णकुम्भ

गोपीकृष्ण ढुंगाना
सुनसरी (चतराधाम): बाह्र वर्षपछि आगामी चैतमा सुनसरीको बराहक्षेत्रमा पूर्णकुम्भ लाग्‍ने भएको छ। करिब एक करोड भक्तजन उतार्ने लक्ष्यसहित कुम्भको तयारी तीब्ररूपमा भइरहेको छ। सुनसरी जिल्लाको बराहक्षेत्र गाविसको चतराधाममा चैत महिनाको शुक्‍ल पक्षदेखि वैशाख महिनाको शुक्‍ल पक्षसम्म एक महिना हुने उक्त कुम्भका लागि भारतका जगद्गुरू, शंकराचार्य आदिलाई निम्ता गर्नेदेखि कुम्भ क्षेत्रको भौतिक तयारीसमेत भइरहेको हो। यो तेस्रो पूर्णकुम्भ हो।

नेपालका प्रथम जगद्गुरू श्री बालसन्त मोहनशरण देवाचार्य महाराजजीले केही महिनादेखि पूर्णकुम्भको तयारी भइरहेको बताए। उनले अन्नपूर्णसँग भने, ‘पूर्णकुम्भको तयारीका लागि कम्तिमा एक वर्षको तयारी चाहिन्छ। आगामी चैतमा पर्ने पूर्णकुम्भका लागि सानोतिना तयारी भएकै थिए तर अब केही महिनामात्र बाँकी रहेकाले विशेष तयारीमा छौं।’ उनका अनुसार, पूर्णकुम्भका लागि चतराधामलाई १६ वटा क्षेत्रमा विभाजन गरिएको छ।
जसअनुसार, वराह क्षेत्र, चतराघाटदेखि महिलाआश्रमसम्मको क्षेत्र, कुम्भस्तम्भ र बौद्धगुम्बा क्षेत्र, राधा सर्वेश्वर परिसर क्षेत्र, जगद्गुरूपीठ क्षेत्र, अद्धैत आश्रम र जोस्मनी मठ क्षेत्र, शंकराचार्य मठ क्षेत्र, रामानन्द सेवा पीठ क्षेत्र, प्रस्तावित बल्लवाचार्य र मध्वाचार्य मठ क्षेत्र, तेरआरडी क्षेत्र, भूबराह रामानुपीठ क्षेत्र, बयरवन क्षेत्र, चतरा बसस्ट्याण्ड क्षेत्र, औलिया बाबा क्षेत्र, प्राचीन हरिद्धार बजार क्षेत्र र कौशिकी टापू क्षेत्र छन्। पूर्णकुम्भमा करिब एक करोड भक्तजन आउने जगद्गुरूको भनाइ छ। उनले भने, ‘सुरक्षाका दृष्टिले कम्तिमा छवटा बेसक्याम्प राख्ने तयारी भएको छ।’
जगद्गुरू आश्रमअन्तर्गतको गुरूकूलका प्राचार्य हरिशरण उपाध्याय रेग्मीका अनुसार, क्षेत्रीय प्रशासक शंकरप्रसाद अधिकारीको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, सशस्त्र र जनपद प्रहरी लगायतको समिति बनेको छ। कुम्भको भौतिक निर्माणका लागि खानेपानी, विद्युत, सडक लगायतको काम पनि अघि बढिसकेको उनको भनाइ छ। उनले भने, ‘कौशिकी नदीमा नुहाउनका लागि नदीकिनारमा दर्जनबढी अस्थायी टहरा निर्माण हुनेछन् भने करिब पाँच हजार अस्थायी शौचालय बनाउने तयारीमा छौं।’ उनले सोहीअनुसार खानेपानी, सडक, बसपार्क र नदी पारी तर्न तीनवटा अस्थायी पुलसमेत निर्माण गरिने जानकारी दिए। गतवर्ष भारतको इलाहावादमा महाकुम्भ सम्पन्न भएको थियो। गंगा, जमुना र सरस्वती नदीको संगमस्थलमा सम्पन्न महाकुम्भमा भारत सरकारले करिब २२ सय करोड भारतीय रूपैयाँ खर्च गरेको थियो।
भारतको महाकुम्भ भएकै बेलादेखि आफैंले नेपालको कुम्भका लागि भारतका जगद्गुरूहरू, शंकराचार्यहरू, प्रसिद्ध पीठाधीश्वरहरूलाई निमन्त्रणा दिएको जगद्गुरूले जानकारी दिए। उनका अनुसार, स्वामी रामदेव, निम्बर्काचार्य, मृत्युञ्जय त्रिपाठी, डा. सुधाकर मिश्र, पाइलट बाबा, मध्र्वाचार्य, अवधेशानन्दजी, सत्य मित्रानन्दजी महाराज, हंसदेवाचार्य, काशी विद्धत परिषद् एवं काशी पण्डित सभाका विद्धानहरूलाई निमन्त्रणा दिइएको हो। यसबाहेक वृन्दावन, अयोध्या, हरियाणा, पंजाब, बनारस, कुरूक्षेत्र लगायतका क्षेत्रका मुख्य व्यक्तिहरूलाई बोलाइएको उनको भनाइ छ। कुम्भको खर्चका लागि भने भक्तजनबाट प्राप्त हुने भेटीबाटै सञ्‍चालन गरिने उनको भनाइ छ।
‘भारतमा सरकार स्वयं कुम्भका लागि खर्च गर्न तयार छ तर नेपालमा त्यो अवस्था बनिसकेको छैन’, जगद्गुरू देवाचार्यले भने, ‘एक्लो प्रयासलाई स्थानीय बासिन्दा र सरकारका स्थानीय निकाय तथा कार्यालयको सहयोग प्राप्त भएको छ। कुम्भको महत्त्व बुझेर सरकारले नै भारतको जस्तो प्रयास गरे नेपाल पनि धार्मिक पर्यटनमा निकै अघि बढ्ने थियो।’

दीपंखा यात्रामा लाखभन्दा बढीको सहभागिता

दीपंखा यात्रामा लाखभन्दा बढीको सहभागिता

गोपीकृष्ण ढुंगाना
काठमाडौं: कोही चप्पलमा छन् त कोही जुत्तामा। कोही पाइन्ट र सर्ट त कोही दौरासुरुवालमा। कहिले पिच सडकमा त कहिले ग्राभेल बाटोमा। हजारौंको संख्यामा देखिएको यो दृश्य दीपंखा यात्राको हो। आठ वर्षपछि आयोजना गरिएको यो यात्राका क्रममा स्थानीय बासिन्दाको सक्रिय सहभागिता थियो।IMG_1629fffffffffffff

कोही यात्रामा सहभागी थिए भने कोही यात्रामा रहेकालाई विभिन्न खाने र पिउने कुरा दिन व्यस्त थिए। आफ्नो गच्छेअनुसार कसैले बिस्कुट दिए त कसैले चकलेट। निश्चित स्थानमा खाना खुवाउने मानिससमेत थिए। परिवार र राष्ट्रमा सुख, शान्ति र समृद्धिको कामना गर्दै यात्रामा सहभागी भएका थिए। यात्राका भक्तजनहरू कोही हातमा नक्सा हेर्दै अघि बढिरहेका भेटिए भने कोही अगाडिका यात्रुको अनुसरण गरिरहेका भेटिन्थे।
यात्रालाई नेतृत्व गरिरहेका तीनजना पुजारीले जुनजुन पीठ, मठ, शिवालय, देवालय आदिमा झन्डा गाडेर पूजा गरी हिँड्छन्, तिनैतिनैमा पूजा गर्दै भेटी वा खाद्यवस्तु चढाउँदै आफ्नो यात्रा पूरा गर्दै थिए।
पाँचवटा अति दुर्लभ योग परेको शुक्रबार अर्थात् कात्तिक १ गते यसैगरी बिहान २ बजेदेखि ललितपुरको नागबहालबाट यात्रा सुरु गरेर दिनभर करिब एक लाख भक्तजनले ललितपुर र काठमाडौंका विभिन्न पीठ, मठ, शिवालय र देवालयको यात्रा गरेका थिए। नेस्फिल कलेजमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत २० वर्षीया सिर्जना डंगोल यात्रामा १५ वर्षीय भाइ र सानिमा उषा महर्जनसँग भेटिइन्। नारायणहिटी दरबारको पूर्वी मोहडामा शुक्रबार मध्याह्न भेटिएकी उनले अन्नपूर्णसँग भनिन्, ‘एकदमै रमाइलो लागिरहेछ। जसरी यतिबेला लाखौं मानिस दीपंखा यात्रामा एकचित्त भएर हातेमालो गरिरहेका छन् त्यसरी नै देश विकासका लागि नेपाली जुट्ने हो भने पक्कै विकास हुने थियो।’
पछाडि ब्याग र अगाडिपट्टि कम्मरमा पैसा हाल्ने साइड ब्याग भिरेकी सिर्जना र उनकी सानिमा उषाले प्रत्येक मठ, पीठमा दुई रुपैयाँको दरले चढाइरहेको बताए। हरिसिद्धिकी उषाले भनिन्, ‘दुवैका खुट्टा दुखेका छन् तर भगवान्को साथ रहेसम्म हामी यो यात्रालाई पूरा गर्छौं भनेरै लागेका छौं।’ सिर्जनाले थपिन्, ‘ब्यागमा रेनकोट र फेर्ने हल्का खालका कपडा बोकेका छौं।’ यात्रा बीचबाट थालेर बीचैमा छोड्न पनि पाइन्छ। कसैले अघिल्लोपटक जहाँ छोडेको हो त्यहीबाट पुन: अर्कोपटक थालेर टुंग्याउने गरेका पनि छन्। यात्रामा ११ वर्षदेखि ७४ वर्षीया वृद्धा र ७७ वर्षका वृद्धसमेत सहभागी रहेको आयोजकको भनाइ छ।
IMG_1607fffffffffffff
नक्सालमा ४ बजे भेटिएका हरिप्रसाद र नारायणदेवी श्रेष्ठ दम्पतीले भने दीपंखा यात्रामा प्रत्येक पाइला हिँड्दा एक तोला सुन दान गरेबराबर हुने भएकाले यात्रामा सरिक भएको बताए। लुभु माविका लेखापाल ५० वर्षीय उनले भने, ‘बिहान ४ बजे ललितपुरको नागबहालबाट यात्रा थालेका थियौं, अहिले ठीक ४ बज्दा काठमाडौंको नक्साल छौं। निरन्तरको यात्राले मेरो घुँडा र पत्नीको कम्मर दुखेको छ। तर भगवान्को नाममा स्वेच्छाले हिँडेकाले यात्रा अविस्मरणीय बनेको छ।’ २०२४ सालको दीपंखा यात्रामा नागबहालका लक्ष्मीबहादुर शाक्य १२ वर्षका थिए। त्यो बेला उनी स्वयम्भूसम्म हिँडे। तर हजुरआमाले थाकिस् अब रात पनि पर्‍यो भनेर उनलाई फर्काइदिनुभएको रहेछ। ५९ वर्षीय उनी अहिले आयोजकका रूपमा दोस्रो पूर्ण यात्रा गरिरहेका छन्। उनले भने, ‘त्यो बेला नजानी नबुझी लहैलहैमा हिँडिएछ तर अहिले सबै कुरा बुझेर हिँडेकाले होला यात्रा भिन्दै रमाइलो भएको छ। हिँड्नचाहिँ अहिलेभन्दा उसबेलै मज्जा लागेको थियो किनकि युवा जोस भिन्दै हुँदोरहेछ।’
दीपंखा यात्राका लागि पाँचवटा अति दुर्लभ योगहरूको समागमन एकै दिन हुनुपर्ने संस्कृतिविद्हरू बताउँछन्। उनीहरूका अनुसार, सौरमासको संक्रान्ति, चन्द्रमासको पूर्णिमा, रेवती नक्षत्र, हर्षण योग र आदित्यवारको संयोग परेकै कारण आठ वर्षपछि कात्तिक १ गते शुक्रबार दीपंखा यात्रा सुरु भएको हो। यसअघि सम्पन्न दीपंखा यात्राको यो साइतका लागि ३८ वर्ष कुर्नु परेको थियो। यी सबै योगहरू परे पनि आइतबार पर्नु नहुने परम्परा छ। यस वर्ष नेपाल संवत् ११३३ को आश्विन शुक्ल पूर्णिमाका दिन परेको छ।
श्लोक शास्त्रअनुसार, पवित्र मानिएको यो यात्रामा सहभागी हुने भक्त जनहरूले टेक्ने प्रत्येक पाइला हिँड्दा एक तोला सुन दान गरे बराबरको पुण्य प्राप्त हुन्छ। यात्रामा सहभागी हुने श्रद्धालु भक्त जनले विभिन्न देवदेवीका लागि पूजा अर्पण गर्ने सामग्री एक सय ३५ भाग हुनुपर्ने छ। तर कतिपयले नौ किसिमका गेडागुडी पनि चढाउने गर्छन्। उनीहरूले विभिन्न बौद्ध र हिन्दू धर्मका प्रमुख देवदेवी, पीठ र अष्टमात्रिका गणहरूमा अनेक प्रकारका खाद्य वस्तु, धूप, दीप, शत्बिज आदि चढाउँछन्। साथमा भेटी पनि चढाउने गरिन्छ।
अहोरात्र हुने पदयात्राका क्रममा सहभागी भक्तजनले समस्त जीवन र जगत्को सुख, शान्ति र समृद्धिको कामना गर्दछन्। यात्राको एकदिनअघि बिहीबार बिहान ९ बजे श्री नीलथू महावृषरत्न बोधिसत्वको प्रतिमाअगाडि विधिवत् बौद्ध परम्पराअनुसार सप्तविधानुत्तर पूजा गरेको दीपंखा यात्रा व्यवस्थापन समितिका महासचिव विकासरत्न धाख्वाले जानकारी दिए। उनका अनुसार, यात्रामा सहभागी हुने भक्तजनले अघिल्लो दिन नीलथूलाई किसली अर्थात् माटोको पालामा अक्षताले भरी त्यसमा एउटा सिंगो सुपारी र दक्षिणा राखी भक्ति अर्पण गर्नुपर्छ। उनले थपे, ‘यसको अर्थ यात्राको समयमा कुनै पनि विघ्नबाधा नआओस् भन्ने हो। भगवान्सँग अन्तरसम्बन्ध गाँसी समर्पित हुने प्रक्रियाका रूपमा पनि यसलाई लिइन्छ।’
समितिका अध्यक्ष ज्ञानबहादुर शाक्यका अनुसार, यात्राका लागि पदमार्ग निरीक्षणमा जाने चलन छ। उनले घटस्थापनाको भोलिपल्ट कौलाथ्व द्वितीयाका दिन हिरण्यवर्ण महाविहार दाफा भजन खल:सहित महालक्ष्मीस्थानसम्म र चार दिन लगाएर यात्राका सबै मार्गको निरीक्षण गरिएको बताए। ललितपुर जिल्लाको ललितपुर उपमहानगरपालिकाको वडा नम्बर १६ स्थित नागबहालबाट यो यात्रा सुरु भएको थियो।
यात्रामा सहभागीले ललितपुर र काठमाडौंका एक सय ३१ देवालय, बौद्ध विहार, शिवालय, पीठ र मठमन्दिरहरू पुग्ने चलन छ। लाखौं श्रद्धालु भक्त जन सहभागी हुने यो यात्रा साढे ६६ किलोमिटर लामो हुने समितिका पदाधिकारीको भनाइ छ। नागबहालबाट सुरु भएको यो यात्रा ललितपुरकै लगनखेलस्थित महालक्ष्मीस्थान पुगेर समापन हुने गर्छ। शाक्यका अनुसार, दीपंखा यात्रामा पूजा गरिने देवदेवीहरूमा नीलथू बोधिसत्व, देलक्व भगवान् बुद्ध, पुरानो चैत्य, बासुकी नाग, कोयना गणेश, भंसा गणेश, चम्पक नाग, दिगी चक्रेश्वर, अशोक चैत्य, हनुमान, शाक्यमुनि, स्वयम्भू रत्नचैत्य, वज्रसत्व, योगाम्बर, महांकाल, भेलुध्वाखा, क्वालखु गणेश, हरसिद्धि जलदेव, अशोक चैत्य, कुम्भेश्वर महादेव, नारायण, मातंगीदेवी, मणिलिंगेश्वर महादेव, मनिगणेश, भीमसेन, मनक्ववहा, कृष्णमन्दिर, शाक्यमुनि (पाटन दरबार), द्विंमाजु (भण्डारखालभित्र), हपातसिद्धि गणेश, जटाधारी लोकेश्वर र वसुन्धरादेवी छन्।
यसैगरी, अन्य देवदेवीमा बलभद्र, पद्मपाणि लोकेश्वर, जोगाम्बर, लुँखुसी शाक्यमुनी, महालक्ष्मी, स्वयम्भू चैत्य, ईखा भैरव, घलचा सिद्ध, छ्वासकामनी, लनिकुनी भैरव, श्रीकरुणामय, कार्यविनायक (भ्रामणी गणेश), रुद्रायणी, नौनाग कोइन्हाबसी, कोयेना गणेश, आनन्दादी लोकेश्वर, गन्देश्वर महादेव छन्। यहाँ पुगेपछि बिहानको जलपान र केहीबेर विश्राम हुने शाक्यको भनाइ छ। यसपछि यात्रामा सहभागी भक्त जनले गणेश, नेखु दोभानको ब्रम्हायणी, पलिंगालको महेश्वरी, लोहंगालको महेश्वरी, इन्द्रायणी, हासापोता गणेश, पचली भैरव, अजिमा महालक्ष्मी, कालिका, बुद्धबारीस्थित शाक्यमुनि, अट्कोनारायण, मरुको अशोकविनायक गणेश, तबो भीमसेन, विष्णुमतीको तंकेश्वर महादेव, खुसिबहीको बोधिसत्व, कन्हुबहीको शाक्यमुनि, सीतापाइलाको श्रीदेवया पालिख्वा:, फेखाको भैरव, इचंगुनारायणका आदेश्वर महादेव, नारायण, दथुमण्डल चैत्य, हल्चोक माणेडाँडाको विष्णुदेवमा भेटी र खाद्यवस्तु आदि चढाउँछन्।
यसपछि स्वयम्भू महाचैत्यका महामञ्जुश्री, पुलांस्यंगु, वायुपुर, वसुपुर, स्वयम्भू महाचैत्य, हारती अजिमा, स्यंगुबही, अग्निपुर, शान्तिपुर पुग्ने गर्छन्। यहाँ पुगेपछि भक्त जनले विश्राम गरी दिउँसोको भोजन गरेका थिए। भोजनपछि नागपुर, विजेश्वरीको विद्याधरीदेवी, लुतिमाजु, श्रीघ भगवान्, थंबहीको बोधिसत्व, पकनाजोलको गणेश, म्हेपीको जोगाम्बर, रानीबारीको अजिमा (चन्द्रसूर्य), लाजिम्पाटका दयाश्वर महाद्य: र कालिनाथ, नील सरस्वती, नारायणहिटीको नारायण, नक्सालका नन्दीकेश्वर महादेव, भगवानबहाल र नक्साल भगवती, टंगालको मोपता जोगिनी, हाँडीगाउँको वैष्णवी टुँडालदेवी, चण्डोलको धुम्बाराही, चाबहिलका रक्तविनायक, दथुमण्डल चैत्य (पिंगला विहार), चारुमति विहार बोधिसत्व र धन्दो चैत्य, महांकालको झुवा महाकाल, बौद्धका छ्वासकामुनि अजिमा र रत्न सम्भव भगवान् चैत्य छन्। यस ठाउँमा पुगेपछि भक्त जन विश्राम गर्छन्।
अहोरात्र हुने यो यात्रामा सहभागी सबै भक्तजनले शनिबार बिहानको पहिलो प्रहरमा गंगामाईमा नुहाई गुहेश्वरीदेवी, गोरखनाथ, विश्वरूपा (मृगस्थली), वछलादेवी, लुचला नीलथुसा, वासुकी नाग, पशुपतिनाथ, मैत्री बोधिसत्व र राजेश्वरी पुग्नेछन्। यसपछि जयवागेश्वरी, वनकाली, मनीलखु बोधिसत्व दोहचा, पिंगलामाई, कोटेश्वर महादेव, कुटिविहार, चामुण्द्रादेवी, इकुबहिलको धन्दो चैत्य यम्पिथुर, च्यासलको पञ्च चैत्य, बालकुमारी, सिद्धिलक्ष्मी भंगी, गण्डेश्वर महादेव, कनिवहाको सूर्यविनायक, मतिको भैरव, धन्दो चैत्य लगंथुर र महालक्ष्मीस्थानको श्री नीलथूमा खाद्यवस्तु र भेटी चढाइन्छ।
यात्रा सम्पन्न गरी महालक्ष्मीस्थान पुगेपछि सबैलाई आआफ्ना परिवारजनले सफलताको शुभकामनासँगै सुगन दिने चलन रहेको समन्वयकर्ता राज वज्राचार्य बताउँछन्। उनका अनुसार, त्यसपछि परम्परागत धा: बाजा र लावालस्करसहित मूलदेवता नीलथूलाई नगर परिक्रमा गराइन्छ। परिक्रमापछि नागवहालमा विराजमान गराइन्छ र दीपंखा यात्रा पूर्णरूपमा सम्पन्न भएको घोषणा गरिने उनको भनाइ छ। उनले भने, ‘दीपंखा यात्रालाई धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुताको प्रतीकका रूपमा लिइन्छ।’
धार्मिकशास्त्र वृषावदानअनुसार, शाक्यमुनि बुद्ध वृषावतार हुँदा श्री नीलमहावृषरत्न नामकरण गरिएको बोधिसत्वको चरितार्थ कालान्तरमा ललितापुरी नगरीको प्रसिद्ध हिरण्यवर्ण महाविहारको योगाम्बर गुह्यालयमा अवस्थित नीलथूलाई पशुपतिनाथस्थित कैलाशमा तान्त्रिक विधिद्वारा लगी दिगबन्धनमा राखिएको थियो। नीलथूलाई पुन: हिरण्यवर्ण महाविहारमा फर्काउने क्रममा ऋद्धिसिद्धि, तन्त्रक्रिया र आकर्षणका विधिका कारण वृषदेव त्यहाँ बस्न नसकी तीन महिनासम्म भ्रमित भई भौतारिएका थिए। त्यसपछि उनी विभिन्न चैत्य, देवालय, शिवालय, पीठ तथा मठमन्दिरमा बास बस्दै योगाम्बर चक्रस्थलभित्र पुगे र पुगेलगत्तै हालको ललितपुरस्थित नागवहालमा सिद्ध भएका थिए। यसै घटनाको सम्झनामा पाँचवटा अति दुर्लभ योग परेका दिनमा दीपंखा यात्रा गरिँदै आएको पाइन्छ।

अहोरात्र हिँड्दा अद्भुत अनुभव

अहोरात्र हिँड्दा अद्भुत अनुभव

गोपीकृष्ण ढुंगाना
काठमाडौं:‘लखतरान भएर पाइला सर्न छोड्छ तर अगाडि र पछाडिका भाइबहिनी एवं वृद्धवृद्धा देख्दा फेरि जोश बढ्थ्यो’, जीवनमा पहिलोपटक निरन्तर दिनरात नभनी २७ घन्टा लामो दीपंखा यात्रा सम्पन्न गरेका मुरारी सिग्देलले भने, ‘साँच्‍चिकै अद्भुत अनुभव भयो। यत्तिको रोचक यात्रा कहिल्यै गरेको थिइनँ।’nirichyan51

पुल्चोकनिवासी ४८ वर्षीय सिग्देलसँगै शुक्रबार बिहान २ बजेदेखि शनिबार बिहानभरि ललितपुर र काठमाडौंका एक सय ३१ मठ, मन्दिर, पीठ, शिवालय र देवालय घुम्ने सबै भक्तजनले यस्तै रोचक अनुभव बटुले।
धर्मका नाममा साढे ६६ किलोमिटर दूरीको करिब २८ घन्टा लामो यात्रा यो नै एकमात्र हो। अमेरिकाको न्युयोर्कमा हुने विश्वकै सबैभन्दा लामो म्याराथनको दूरी पनि ४२ किलोमिटरमात्र रहेको पाइन्छ। बौद्ध जातक कथासँग जोडिएको यो यात्रा जुर्न पनि निकै कठिन छ। ‘कसैले चाहेर पनि यात्रा गर्न पाइनहाल्ने भएकाले यसको विशेष महत्त्व भएको पाएरै पहिलोपटक सहभागी भएको थिएँ’, व्यवसायी सिग्देलले भने, ‘हिन्दू र बौद्ध धर्मावलम्बीको मिश्रण हुनु, बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी हुनु, यात्रीलाई स्वतस्फूर्त सेवा गर्नेहरूको भावना आदिले यात्रा अद्भुत रह्यो।’
३८ वर्षपछि २०६२ सालमा जुरेको यो यात्रा यसपटक आठ वर्षपछि भएको हो। दीपंखा यात्रा व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर शाक्यका अनुसार, १९०२, १९२१, १९४०, १९५९, १९७८, १९९७, २००५ र २०२४ सालमा दीपंखा यात्रा भएका थिए। शनिबार सम्पन्न दीपंखा यात्रा दसौं भएको आयोजकको भनाइ छ।
श्‍लोक शास्त्रअनुसार यो यात्रामा सहभागी हुने भक्तजनले हिँड्ने प्रत्येक पाइलामा एक तोला सुन दान गरेबराबरको पुण्य प्राप्‍त हुन्छ। समस्त प्राणीको सुख, शान्ति र समृद्धिको कामना गर्दै गरिने यो यात्रा नागबहालकी विमला धाख्वाले २२ घन्टामा पूरा गरिन्। ‘चुनौती पूरा गर्नुलाई नै मैले अद्भुत यात्रा मानेकी हुँ’, हाइड्रोपावरमा कार्यरत उनले अन्नपूर्णसँग भनिन्, ‘एक्लै हिँडेको भए सम्भव थिएन।’ आमाजु, छोरी, भतिज, भतिजी र ज्वाइँसहित यात्रामा निस्केकी उनले थपिन्, ‘मानिसमा यतिविधि धार्मिक भावना छ, एकजुट हुनुपर्छ र एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावना देखेर म अचम्भित भएकी छु। यसरी नै सबैमा भावना आए देशले कोल्टे फेर्ने थियोजस्तो लाग्यो।’
साहित्यकार किशोर श्रेष्ठले भने २७ घन्टा लगाएर यात्रा पूरा गरे। भने, ‘जिन्दगीमा गजबकै ‘फिलिङ’ भयो। गोडा दुख्दादुख्दै र शरीर थाक्दाथाक्दै पनि खै कुन ‘रोमान्स’ ले हो यात्रा सहजै पूरा भयो।’ ललितपुर अफलडोलका ५७ वर्षीय उनले यो यात्रामा धेरै ठाउँ नयाँ लागेको बताए। उनले थपे, ‘कति लामो यात्रा गर्न सकिँदो रहेछ भन्ने थाहा भयो, यात्रामा बौद्ध पुगेपछि केही घन्टा आराम गर्न पाइयो। त्यहाँ थकित महिला पुरुष भुइँभरि असरल्ल लडेका दृश्य साँच्चै रोचक र अद्भुत थियो।’ उनले नौ थरीका गेडागुडी चढाउँदै हिँडेको बताए। उनका अनुसार, नौ ग्रहका रूपमा धान (सूर्य), तिल (चन्द्र), तोरी (मंगल), रायो (बुध), जौ (वृहस्पति), सानो केराउ (शुक्र), मासको गेडा (शनी), कालो भटमास (राहू) र गहत (केतू) का रूपमा चढाए कामना पूरा हुन्छ।
पाँचवटा अति दुर्लभ योग परेको शुक्रबार ललितपुरको नागबहालबाट सुरु भएको यात्रा शनिबार मध्याह्न ललितपुरकै महालक्ष्मीस्थानमा पुगेर टुंगिएको थियो। यात्राका लागि पाँचवटा अति दुर्लभ योगको समागमन एकै दिन हुनुपर्ने संस्कृतिविद्को भनाइ छ। जसअनुसार, सौरमासको संक्रान्ति, चन्द्रमासको पूर्णिमा, रेवती नक्षत्र, हर्षण योग र आदित्यवारको संयोग पर्नुपर्छ। यात्रामा सहभागीले ललितपुर र काठमाडौंका एक सय ३१ देवालय, बौद्ध बिहार, शिवालय, पीठ र मठमन्दिर पुग्‍ने र भेटी तथा खाद्यवस्तु चढाएर पूजा गर्ने चलन छ।

Friday, September 27, 2013

जिउँदोमा खान नदिने, मरेपछि पिण्डदान

गोपीकृष्ण ढुंगाना
काठमाडौं, 10 Ashoj : गोमा गर्भवती भएपछि पति शिव शर्मा घरबाट निस्किए। फलफूल टिप्ने क्रममा रूखबाट खसेर मरे। गर्भवती गोमाको पति खोज्न जाने अवस्थै थिएन। अरूले भेट्टाएनन्। छोरो जन्मियो र नाम राखियो, नवराज। हुर्किएपछि उनले बुबाका बारेमा आमासँग सोधे। गोमाले घरबाट निस्किएदेखि आफूलाई केही थाहा नभएको बताएपछि नवराजले भने, ‘म छोरो भएर जन्मेको के काम? म बिनाबाबुको छोरो त होइन नि, पत्ता लगाएरै छाड्छु?’ उनले बुबालाई जिउँदो फेला पारेनन् तर हाडखोर भेट्टाए र काजकिरिया गरे। पछि नवराज ‘लावण्य’ देशका राजा भएका थिए।
स्वस्थानी व्रतकथामा वर्णन गरिएको नवराजको बाबुप्रतिको भक्ति बुझेर ललितपुर ठूलादुर्लुङका भीमनाथ दुलालले पनि छोराको नाम नवराज नै राखे। हाँसीखुसी केही दशक बित्यो। पत्नीलाई रोगले च्यापेपछि अस्पतालबाटै बिदा गर्नुपर्‍यो। सम्पत्ति पनि सकियो। त्यसपछि उनी रोगले मर्नु न बाँच्नुकै अवस्थामा पुगे।
छोराछोरीले बुढेसकालमा आफूलाई संरक्षण गर्लान् भन्ने थियो उनलाई। ‘सबै कुरा सहन सकिँदोरहेछ, वचन सियो बनेर बिझेपछि सहन नसकिँदोरहेछ र साथीको सल्लाहमा यहाँ आएको हुँ’, विगत नौ वर्षदेखि पशुपति वृद्धाश्रममा बस्दै आएका भीमनाथले भने, ‘जहाँ पाउँला त्यहीं खाउँला भनी जोगीझैं बनेर घरबाट हिँड्नुपर्‍यो। संसार यस्तै रहेछ। कहाँको जन्म कहाँको मरण।’ सम्पत्ति हुँदा लडिबुडी गर्ने सन्तानले आफू रोगी हुँदा खान नदिएपछि वृद्धाश्रमको सहारा लिनुपरेको उनको भनाइ छ। उनले थपे, ‘छोरो भए पनि केही नहुनेरहेछ। जिउँदो छुँदा खान पनि नदिनेले मरेपछि खीर पकाएर दिएको पिण्डदानको के अर्थ?’
त्यस्तै रामेछापबाट दुई वर्षअघि पत्नीसहित वृद्धाश्रमको शरण परेका ८२ वर्षीय अमरबहादुर पुरीले भने, ‘लोकका लागि देखाउन गरिने श्राद्ध व्यर्थ हो। प्राण छउन्जेल दुई मुठी खान नदिनेले मरेपछि किन खीर भाग लगाउनु?’
यतिबेला सोह्रश्राद्ध चलिरहेको छ। पितृका नाममा हजारौंले पिण्डदान गरिरहेका छन्। तर पशुपति वृद्धाश्रमका वृद्धवृद्धाले भने न एक छाक मीठो खान पाएका छन् न त छोराछोरीको माया। उल्टै आफ्ना सन्तानबाट अपहेलना सहन नसकी वृद्धाश्रममा आश्रय लिइरहेका छन्। उनीहरू भन्छन्, ‘सन्तानबाटै लेखेटिएर वृद्धाश्रम आउँला भन्ने सोचेका थिएनौं।’
इनारमा परेको सर्पलाई एउटा मानिसले सोधेछ, ‘म निकालिदिन्छु, त्यसपछि मलाई के गर्छस्?’ सर्पले भनेछ, ‘यो धर्मको गुन देख्छु।’ लोककथनअनुसार निकालेपछि सर्पले टोक्न झम्टिएछ। मानिसले अचम्म मान्दै भन्यो, ‘गुन गर्छु भनेको होइन?’ उसले जबाफ पायो, ‘गुनले गुन खान्छ, तँलाई म खान्छु।’ यस्तै भयो भक्तपुर नगरकोटका कुमाले र मीठु नेपाली दम्पतीलाई पनि। तीन छोरी एक छोराका बाबुआा उनीहरू गत वर्षदेखि वृद्धाश्रममा बस्दै आएका छन्।
७४ वर्षीय कुमालेले भने, ‘दमले पीडित छु। धनसम्पत्ति हुन्जेल छोरो बलियो भयो, बलियाले हामीलाई धपायो।’ मिठुले थपिन्, ‘हामीले त सासूससुरा पालेथ्यौं, अशक्त हुँदा दिसापिसाप हातैमा थापेथ्यौं। कर्मै यस्तो हो कि समय उस्तो हो पाउनुसम्म दु:ख पाएका छौं।’ दुवैले थपे, ‘बुढेसकालमा बाबुआमा नहेर्ने छोरो के छोरो? मरेपछि श्राद्धको के काम? गरे गरून् नगरे नगरून्।’

Election Karyadal


Garib Pashupatinath


Tuesday, September 17, 2013

रकम अभावमा रोकियो इन्द्रजात्राको दस अवतार झाँकी

रकम अभावमा रोकियो इन्द्रजात्राको दस अवतार झाँकी

गोपीकृष्ण ढुंगाना
काठमाडौं : इन्द्रजात्रामा लगातार आठ दिन प्रदर्शन गरिने दस अवतार झाँकी यसपटक पहिलो दिन नै प्रदर्शन हुन सकेन। काठमाडौं महानगरपालिकाले समयमै रकम उपलब्ध नगराउँदा काठमाडौंको संस्कृतिसँग गाँसिएको इन्द्रजात्रा यसपालि खल्लो भएको छ। दस अवतार प्रदर्शन तथा प्रवर्द्धन समाजसँग रकम अभाव भएकाले वर्षौंदेखि महानगरपालिकाको सहयोगमा जात्रा सञ्‍चालन हुँदै आएको थियो।indrajatra
दस अवतार झाँकीका मूल नाइके दीपकप्रसाद श्रेष्ठले १३ वर्षदेखि झाँकी प्रदर्शन गर्दै आइरहेका छन्। यसपालि रकम अभावका कारण झाँकी प्रदर्शन गर्न नसकिएकोमा उनले खिन्नता प्रकट गरे। अन्नपूर्णसँग भने, ‘यसअघि बराजु, बाजे, बुबा र दाजुहरूले चलाउँदा कहिल्यै रोक्नु परेको थिएन। महानगरपालिकाले समयमै रकम उपलब्ध नगराउँदा यो अवस्था आएको हो।’
उनका अनुसार समाजसँग पनि दस अवतार सञ्चालनका लागि रकम छैन। थपे, ‘समाजले यसअघिका वर्षमा दस अवतारका लागि लिएको हजारौं रकम नै तिर्न बाँकी छ।’ इन्द्रजात्रा व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका श्रेष्ठले दस अवतार प्रदर्शन गर्न चाहिने आवश्यक लुगाफाटो प्रत्येक पाँच वर्षमा फेर्नुपर्ने नियम रहेको बताए। तर, रकम अभावमा सात वर्ष बितिसक्दा पनि नयाँ लुगाफाटो खरिद गर्न नसकिएको लाचारी सुनाए। भने, ‘२०५६ सालमा मन्त्रीस्तरीय निर्णयले नै दस अवतारका लागि प्रयोग हुने लुगाफाटो प्रत्येक पाँच वर्षमा फेर्नुपर्ने निर्णय गरेको थियो। हामीले निवेदन दिएको पनि दुई वर्ष बितिसक्यो। मन्त्रालयबाट रकम निकासा भएको छैन।’
दस अवतार झाँकी प्रदर्शन गर्न ५५ जना जनशक्ति आवश्यक पर्छ। त्यसमा ससाना केटाकेटी ३५, गुठीयार १०, शृंगारकर्ता र पोस्टर मिलाउने १० र महिला चारजना चाहिन्छ। यो झाँकी इन्द्रजात्रा सुरु भएको दिनदेखि सम्पन्न नहुन्जेल प्रत्येक दिन राति ८ देखि करिब ११ बजेसम्म प्रदर्शन गरिन्छ। दस अवतारमा विष्णुका दस अवतार प्रदर्शन गर्ने परम्परा छ। यसमा महाभारत, रामायणलगायतका झलक प्रस्तुत गरिन्छ।
यसअघि इन्द्रजात्राका लागि भनेर संस्कृति मन्त्रालयले एक साताअघि नै ६ लाख ४० हजार रुपैयाँ निकासा गर्ने गथ्र्यो। पाँच वर्षयता त्यो क्रम टुटेको छ। त्यसको सट्टा काठमाडौं महानगरपालिकाले जात्रा सञ्चालनका लागि जात्रामा आबद्ध करिब ३० गुठीलाई चार लाख ५० हजार रुपैयाँ दिँदै आइरहेको थियो। श्रेष्ठका अनुसार इन्द्रजात्रामा सरदर ४५ लाख रुपैयाँ खर्च हुन्छ।
समितिका अध्यक्ष गौतम शाक्यले पनि समयमै रकम नपाउँदा दस अवतारको आवश्यक तयारी गर्न नसकेका कारण सोमबार प्रदर्शन गर्न नसकिएको बताए। उनले भने, ‘रकम प्राप्त भए मंगलबारदेखि सुचारु गर्छौं।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता भरतमणि सुवेदीले यसअघि सीधै समितिलाई रकम दिने गरिए पनि केही वर्षयता बर्सेनि रकम दिन नसकिएको बताए। महानगरपालिकाअन्तर्गतको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख हरिकुमार श्रेष्ठले जात्राका लागि रकम दिने भनेर निर्णय भइसकेको बताए। ‘तर प्रक्रिया लामो हुने भएकाले समयमा उपलब्ध गराउन सकिएन’, उनले भने, ‘नदिने भए महानगरपालिकाले नीतिगत निर्णय गरेर समितिसँग सम्झौता गर्ने नै थिएन नि।’

Saturday, September 14, 2013

पुरानो बसपार्कको कन्तबिजोग