गोपीकृष्ण ढुंगाना
काठमाडौं:‘लखतरान भएर पाइला सर्न छोड्छ तर अगाडि र पछाडिका भाइबहिनी एवं वृद्धवृद्धा देख्दा फेरि जोश बढ्थ्यो’, जीवनमा पहिलोपटक निरन्तर दिनरात नभनी २७ घन्टा लामो दीपंखा यात्रा सम्पन्न गरेका मुरारी सिग्देलले भने, ‘साँच्‍चिकै अद्भुत अनुभव भयो। यत्तिको रोचक यात्रा कहिल्यै गरेको थिइनँ।’nirichyan51

पुल्चोकनिवासी ४८ वर्षीय सिग्देलसँगै शुक्रबार बिहान २ बजेदेखि शनिबार बिहानभरि ललितपुर र काठमाडौंका एक सय ३१ मठ, मन्दिर, पीठ, शिवालय र देवालय घुम्ने सबै भक्तजनले यस्तै रोचक अनुभव बटुले।
धर्मका नाममा साढे ६६ किलोमिटर दूरीको करिब २८ घन्टा लामो यात्रा यो नै एकमात्र हो। अमेरिकाको न्युयोर्कमा हुने विश्वकै सबैभन्दा लामो म्याराथनको दूरी पनि ४२ किलोमिटरमात्र रहेको पाइन्छ। बौद्ध जातक कथासँग जोडिएको यो यात्रा जुर्न पनि निकै कठिन छ। ‘कसैले चाहेर पनि यात्रा गर्न पाइनहाल्ने भएकाले यसको विशेष महत्त्व भएको पाएरै पहिलोपटक सहभागी भएको थिएँ’, व्यवसायी सिग्देलले भने, ‘हिन्दू र बौद्ध धर्मावलम्बीको मिश्रण हुनु, बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी हुनु, यात्रीलाई स्वतस्फूर्त सेवा गर्नेहरूको भावना आदिले यात्रा अद्भुत रह्यो।’
३८ वर्षपछि २०६२ सालमा जुरेको यो यात्रा यसपटक आठ वर्षपछि भएको हो। दीपंखा यात्रा व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर शाक्यका अनुसार, १९०२, १९२१, १९४०, १९५९, १९७८, १९९७, २००५ र २०२४ सालमा दीपंखा यात्रा भएका थिए। शनिबार सम्पन्न दीपंखा यात्रा दसौं भएको आयोजकको भनाइ छ।
श्‍लोक शास्त्रअनुसार यो यात्रामा सहभागी हुने भक्तजनले हिँड्ने प्रत्येक पाइलामा एक तोला सुन दान गरेबराबरको पुण्य प्राप्‍त हुन्छ। समस्त प्राणीको सुख, शान्ति र समृद्धिको कामना गर्दै गरिने यो यात्रा नागबहालकी विमला धाख्वाले २२ घन्टामा पूरा गरिन्। ‘चुनौती पूरा गर्नुलाई नै मैले अद्भुत यात्रा मानेकी हुँ’, हाइड्रोपावरमा कार्यरत उनले अन्नपूर्णसँग भनिन्, ‘एक्लै हिँडेको भए सम्भव थिएन।’ आमाजु, छोरी, भतिज, भतिजी र ज्वाइँसहित यात्रामा निस्केकी उनले थपिन्, ‘मानिसमा यतिविधि धार्मिक भावना छ, एकजुट हुनुपर्छ र एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावना देखेर म अचम्भित भएकी छु। यसरी नै सबैमा भावना आए देशले कोल्टे फेर्ने थियोजस्तो लाग्यो।’
साहित्यकार किशोर श्रेष्ठले भने २७ घन्टा लगाएर यात्रा पूरा गरे। भने, ‘जिन्दगीमा गजबकै ‘फिलिङ’ भयो। गोडा दुख्दादुख्दै र शरीर थाक्दाथाक्दै पनि खै कुन ‘रोमान्स’ ले हो यात्रा सहजै पूरा भयो।’ ललितपुर अफलडोलका ५७ वर्षीय उनले यो यात्रामा धेरै ठाउँ नयाँ लागेको बताए। उनले थपे, ‘कति लामो यात्रा गर्न सकिँदो रहेछ भन्ने थाहा भयो, यात्रामा बौद्ध पुगेपछि केही घन्टा आराम गर्न पाइयो। त्यहाँ थकित महिला पुरुष भुइँभरि असरल्ल लडेका दृश्य साँच्चै रोचक र अद्भुत थियो।’ उनले नौ थरीका गेडागुडी चढाउँदै हिँडेको बताए। उनका अनुसार, नौ ग्रहका रूपमा धान (सूर्य), तिल (चन्द्र), तोरी (मंगल), रायो (बुध), जौ (वृहस्पति), सानो केराउ (शुक्र), मासको गेडा (शनी), कालो भटमास (राहू) र गहत (केतू) का रूपमा चढाए कामना पूरा हुन्छ।
पाँचवटा अति दुर्लभ योग परेको शुक्रबार ललितपुरको नागबहालबाट सुरु भएको यात्रा शनिबार मध्याह्न ललितपुरकै महालक्ष्मीस्थानमा पुगेर टुंगिएको थियो। यात्राका लागि पाँचवटा अति दुर्लभ योगको समागमन एकै दिन हुनुपर्ने संस्कृतिविद्को भनाइ छ। जसअनुसार, सौरमासको संक्रान्ति, चन्द्रमासको पूर्णिमा, रेवती नक्षत्र, हर्षण योग र आदित्यवारको संयोग पर्नुपर्छ। यात्रामा सहभागीले ललितपुर र काठमाडौंका एक सय ३१ देवालय, बौद्ध बिहार, शिवालय, पीठ र मठमन्दिर पुग्‍ने र भेटी तथा खाद्यवस्तु चढाएर पूजा गर्ने चलन छ।