गोपीकृष्ण ढुंगानाकाठमाडौं: कोही चप्पलमा छन् त कोही जुत्तामा। कोही पाइन्ट र सर्ट त कोही दौरासुरुवालमा। कहिले पिच सडकमा त कहिले ग्राभेल बाटोमा। हजारौंको संख्यामा देखिएको यो दृश्य दीपंखा यात्राको हो। आठ वर्षपछि आयोजना गरिएको यो यात्राका क्रममा स्थानीय बासिन्दाको सक्रिय सहभागिता थियो।
कोही यात्रामा सहभागी थिए भने कोही यात्रामा रहेकालाई विभिन्न खाने र पिउने कुरा दिन व्यस्त थिए। आफ्नो गच्छेअनुसार कसैले बिस्कुट दिए त कसैले चकलेट। निश्चित स्थानमा खाना खुवाउने मानिससमेत थिए। परिवार र राष्ट्रमा सुख, शान्ति र समृद्धिको कामना गर्दै यात्रामा सहभागी भएका थिए। यात्राका भक्तजनहरू कोही हातमा नक्सा हेर्दै अघि बढिरहेका भेटिए भने कोही अगाडिका यात्रुको अनुसरण गरिरहेका भेटिन्थे।
यात्रालाई नेतृत्व गरिरहेका तीनजना पुजारीले जुनजुन पीठ, मठ, शिवालय, देवालय आदिमा झन्डा गाडेर पूजा गरी हिँड्छन्, तिनैतिनैमा पूजा गर्दै भेटी वा खाद्यवस्तु चढाउँदै आफ्नो यात्रा पूरा गर्दै थिए।
पाँचवटा अति दुर्लभ योग परेको शुक्रबार अर्थात् कात्तिक १ गते यसैगरी बिहान २ बजेदेखि ललितपुरको नागबहालबाट यात्रा सुरु गरेर दिनभर करिब एक लाख भक्तजनले ललितपुर र काठमाडौंका विभिन्न पीठ, मठ, शिवालय र देवालयको यात्रा गरेका थिए। नेस्फिल कलेजमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत २० वर्षीया सिर्जना डंगोल यात्रामा १५ वर्षीय भाइ र सानिमा उषा महर्जनसँग भेटिइन्। नारायणहिटी दरबारको पूर्वी मोहडामा शुक्रबार मध्याह्न भेटिएकी उनले अन्नपूर्णसँग भनिन्, ‘एकदमै रमाइलो लागिरहेछ। जसरी यतिबेला लाखौं मानिस दीपंखा यात्रामा एकचित्त भएर हातेमालो गरिरहेका छन् त्यसरी नै देश विकासका लागि नेपाली जुट्ने हो भने पक्कै विकास हुने थियो।’
पछाडि ब्याग र अगाडिपट्टि कम्मरमा पैसा हाल्ने साइड ब्याग भिरेकी सिर्जना र उनकी सानिमा उषाले प्रत्येक मठ, पीठमा दुई रुपैयाँको दरले चढाइरहेको बताए। हरिसिद्धिकी उषाले भनिन्, ‘दुवैका खुट्टा दुखेका छन् तर भगवान्को साथ रहेसम्म हामी यो यात्रालाई पूरा गर्छौं भनेरै लागेका छौं।’ सिर्जनाले थपिन्, ‘ब्यागमा रेनकोट र फेर्ने हल्का खालका कपडा बोकेका छौं।’ यात्रा बीचबाट थालेर बीचैमा छोड्न पनि पाइन्छ। कसैले अघिल्लोपटक जहाँ छोडेको हो त्यहीबाट पुन: अर्कोपटक थालेर टुंग्याउने गरेका पनि छन्। यात्रामा ११ वर्षदेखि ७४ वर्षीया वृद्धा र ७७ वर्षका वृद्धसमेत सहभागी रहेको आयोजकको भनाइ छ।
नक्सालमा ४ बजे भेटिएका हरिप्रसाद र नारायणदेवी श्रेष्ठ दम्पतीले भने दीपंखा यात्रामा प्रत्येक पाइला हिँड्दा एक तोला सुन दान गरेबराबर हुने भएकाले यात्रामा सरिक भएको बताए। लुभु माविका लेखापाल ५० वर्षीय उनले भने, ‘बिहान ४ बजे ललितपुरको नागबहालबाट यात्रा थालेका थियौं, अहिले ठीक ४ बज्दा काठमाडौंको नक्साल छौं। निरन्तरको यात्राले मेरो घुँडा र पत्नीको कम्मर दुखेको छ। तर भगवान्को नाममा स्वेच्छाले हिँडेकाले यात्रा अविस्मरणीय बनेको छ।’ २०२४ सालको दीपंखा यात्रामा नागबहालका लक्ष्मीबहादुर शाक्य १२ वर्षका थिए। त्यो बेला उनी स्वयम्भूसम्म हिँडे। तर हजुरआमाले थाकिस् अब रात पनि पर्यो भनेर उनलाई फर्काइदिनुभएको रहेछ। ५९ वर्षीय उनी अहिले आयोजकका रूपमा दोस्रो पूर्ण यात्रा गरिरहेका छन्। उनले भने, ‘त्यो बेला नजानी नबुझी लहैलहैमा हिँडिएछ तर अहिले सबै कुरा बुझेर हिँडेकाले होला यात्रा भिन्दै रमाइलो भएको छ। हिँड्नचाहिँ अहिलेभन्दा उसबेलै मज्जा लागेको थियो किनकि युवा जोस भिन्दै हुँदोरहेछ।’
दीपंखा यात्राका लागि पाँचवटा अति दुर्लभ योगहरूको समागमन एकै दिन हुनुपर्ने संस्कृतिविद्हरू बताउँछन्। उनीहरूका अनुसार, सौरमासको संक्रान्ति, चन्द्रमासको पूर्णिमा, रेवती नक्षत्र, हर्षण योग र आदित्यवारको संयोग परेकै कारण आठ वर्षपछि कात्तिक १ गते शुक्रबार दीपंखा यात्रा सुरु भएको हो। यसअघि सम्पन्न दीपंखा यात्राको यो साइतका लागि ३८ वर्ष कुर्नु परेको थियो। यी सबै योगहरू परे पनि आइतबार पर्नु नहुने परम्परा छ। यस वर्ष नेपाल संवत् ११३३ को आश्विन शुक्ल पूर्णिमाका दिन परेको छ।
श्लोक शास्त्रअनुसार, पवित्र मानिएको यो यात्रामा सहभागी हुने भक्त जनहरूले टेक्ने प्रत्येक पाइला हिँड्दा एक तोला सुन दान गरे बराबरको पुण्य प्राप्त हुन्छ। यात्रामा सहभागी हुने श्रद्धालु भक्त जनले विभिन्न देवदेवीका लागि पूजा अर्पण गर्ने सामग्री एक सय ३५ भाग हुनुपर्ने छ। तर कतिपयले नौ किसिमका गेडागुडी पनि चढाउने गर्छन्। उनीहरूले विभिन्न बौद्ध र हिन्दू धर्मका प्रमुख देवदेवी, पीठ र अष्टमात्रिका गणहरूमा अनेक प्रकारका खाद्य वस्तु, धूप, दीप, शत्बिज आदि चढाउँछन्। साथमा भेटी पनि चढाउने गरिन्छ।
अहोरात्र हुने पदयात्राका क्रममा सहभागी भक्तजनले समस्त जीवन र जगत्को सुख, शान्ति र समृद्धिको कामना गर्दछन्। यात्राको एकदिनअघि बिहीबार बिहान ९ बजे श्री नीलथू महावृषरत्न बोधिसत्वको प्रतिमाअगाडि विधिवत् बौद्ध परम्पराअनुसार सप्तविधानुत्तर पूजा गरेको दीपंखा यात्रा व्यवस्थापन समितिका महासचिव विकासरत्न धाख्वाले जानकारी दिए। उनका अनुसार, यात्रामा सहभागी हुने भक्तजनले अघिल्लो दिन नीलथूलाई किसली अर्थात् माटोको पालामा अक्षताले भरी त्यसमा एउटा सिंगो सुपारी र दक्षिणा राखी भक्ति अर्पण गर्नुपर्छ। उनले थपे, ‘यसको अर्थ यात्राको समयमा कुनै पनि विघ्नबाधा नआओस् भन्ने हो। भगवान्सँग अन्तरसम्बन्ध गाँसी समर्पित हुने प्रक्रियाका रूपमा पनि यसलाई लिइन्छ।’
समितिका अध्यक्ष ज्ञानबहादुर शाक्यका अनुसार, यात्राका लागि पदमार्ग निरीक्षणमा जाने चलन छ। उनले घटस्थापनाको भोलिपल्ट कौलाथ्व द्वितीयाका दिन हिरण्यवर्ण महाविहार दाफा भजन खल:सहित महालक्ष्मीस्थानसम्म र चार दिन लगाएर यात्राका सबै मार्गको निरीक्षण गरिएको बताए। ललितपुर जिल्लाको ललितपुर उपमहानगरपालिकाको वडा नम्बर १६ स्थित नागबहालबाट यो यात्रा सुरु भएको थियो।
यात्रामा सहभागीले ललितपुर र काठमाडौंका एक सय ३१ देवालय, बौद्ध विहार, शिवालय, पीठ र मठमन्दिरहरू पुग्ने चलन छ। लाखौं श्रद्धालु भक्त जन सहभागी हुने यो यात्रा साढे ६६ किलोमिटर लामो हुने समितिका पदाधिकारीको भनाइ छ। नागबहालबाट सुरु भएको यो यात्रा ललितपुरकै लगनखेलस्थित महालक्ष्मीस्थान पुगेर समापन हुने गर्छ। शाक्यका अनुसार, दीपंखा यात्रामा पूजा गरिने देवदेवीहरूमा नीलथू बोधिसत्व, देलक्व भगवान् बुद्ध, पुरानो चैत्य, बासुकी नाग, कोयना गणेश, भंसा गणेश, चम्पक नाग, दिगी चक्रेश्वर, अशोक चैत्य, हनुमान, शाक्यमुनि, स्वयम्भू रत्नचैत्य, वज्रसत्व, योगाम्बर, महांकाल, भेलुध्वाखा, क्वालखु गणेश, हरसिद्धि जलदेव, अशोक चैत्य, कुम्भेश्वर महादेव, नारायण, मातंगीदेवी, मणिलिंगेश्वर महादेव, मनिगणेश, भीमसेन, मनक्ववहा, कृष्णमन्दिर, शाक्यमुनि (पाटन दरबार), द्विंमाजु (भण्डारखालभित्र), हपातसिद्धि गणेश, जटाधारी लोकेश्वर र वसुन्धरादेवी छन्।
यसैगरी, अन्य देवदेवीमा बलभद्र, पद्मपाणि लोकेश्वर, जोगाम्बर, लुँखुसी शाक्यमुनी, महालक्ष्मी, स्वयम्भू चैत्य, ईखा भैरव, घलचा सिद्ध, छ्वासकामनी, लनिकुनी भैरव, श्रीकरुणामय, कार्यविनायक (भ्रामणी गणेश), रुद्रायणी, नौनाग कोइन्हाबसी, कोयेना गणेश, आनन्दादी लोकेश्वर, गन्देश्वर महादेव छन्। यहाँ पुगेपछि बिहानको जलपान र केहीबेर विश्राम हुने शाक्यको भनाइ छ। यसपछि यात्रामा सहभागी भक्त जनले गणेश, नेखु दोभानको ब्रम्हायणी, पलिंगालको महेश्वरी, लोहंगालको महेश्वरी, इन्द्रायणी, हासापोता गणेश, पचली भैरव, अजिमा महालक्ष्मी, कालिका, बुद्धबारीस्थित शाक्यमुनि, अट्कोनारायण, मरुको अशोकविनायक गणेश, तबो भीमसेन, विष्णुमतीको तंकेश्वर महादेव, खुसिबहीको बोधिसत्व, कन्हुबहीको शाक्यमुनि, सीतापाइलाको श्रीदेवया पालिख्वा:, फेखाको भैरव, इचंगुनारायणका आदेश्वर महादेव, नारायण, दथुमण्डल चैत्य, हल्चोक माणेडाँडाको विष्णुदेवमा भेटी र खाद्यवस्तु आदि चढाउँछन्।
यसपछि स्वयम्भू महाचैत्यका महामञ्जुश्री, पुलांस्यंगु, वायुपुर, वसुपुर, स्वयम्भू महाचैत्य, हारती अजिमा, स्यंगुबही, अग्निपुर, शान्तिपुर पुग्ने गर्छन्। यहाँ पुगेपछि भक्त जनले विश्राम गरी दिउँसोको भोजन गरेका थिए। भोजनपछि नागपुर, विजेश्वरीको विद्याधरीदेवी, लुतिमाजु, श्रीघ भगवान्, थंबहीको बोधिसत्व, पकनाजोलको गणेश, म्हेपीको जोगाम्बर, रानीबारीको अजिमा (चन्द्रसूर्य), लाजिम्पाटका दयाश्वर महाद्य: र कालिनाथ, नील सरस्वती, नारायणहिटीको नारायण, नक्सालका नन्दीकेश्वर महादेव, भगवानबहाल र नक्साल भगवती, टंगालको मोपता जोगिनी, हाँडीगाउँको वैष्णवी टुँडालदेवी, चण्डोलको धुम्बाराही, चाबहिलका रक्तविनायक, दथुमण्डल चैत्य (पिंगला विहार), चारुमति विहार बोधिसत्व र धन्दो चैत्य, महांकालको झुवा महाकाल, बौद्धका छ्वासकामुनि अजिमा र रत्न सम्भव भगवान् चैत्य छन्। यस ठाउँमा पुगेपछि भक्त जन विश्राम गर्छन्।
अहोरात्र हुने यो यात्रामा सहभागी सबै भक्तजनले शनिबार बिहानको पहिलो प्रहरमा गंगामाईमा नुहाई गुहेश्वरीदेवी, गोरखनाथ, विश्वरूपा (मृगस्थली), वछलादेवी, लुचला नीलथुसा, वासुकी नाग, पशुपतिनाथ, मैत्री बोधिसत्व र राजेश्वरी पुग्नेछन्। यसपछि जयवागेश्वरी, वनकाली, मनीलखु बोधिसत्व दोहचा, पिंगलामाई, कोटेश्वर महादेव, कुटिविहार, चामुण्द्रादेवी, इकुबहिलको धन्दो चैत्य यम्पिथुर, च्यासलको पञ्च चैत्य, बालकुमारी, सिद्धिलक्ष्मी भंगी, गण्डेश्वर महादेव, कनिवहाको सूर्यविनायक, मतिको भैरव, धन्दो चैत्य लगंथुर र महालक्ष्मीस्थानको श्री नीलथूमा खाद्यवस्तु र भेटी चढाइन्छ।
यात्रा सम्पन्न गरी महालक्ष्मीस्थान पुगेपछि सबैलाई आआफ्ना परिवारजनले सफलताको शुभकामनासँगै सुगन दिने चलन रहेको समन्वयकर्ता राज वज्राचार्य बताउँछन्। उनका अनुसार, त्यसपछि परम्परागत धा: बाजा र लावालस्करसहित मूलदेवता नीलथूलाई नगर परिक्रमा गराइन्छ। परिक्रमापछि नागवहालमा विराजमान गराइन्छ र दीपंखा यात्रा पूर्णरूपमा सम्पन्न भएको घोषणा गरिने उनको भनाइ छ। उनले भने, ‘दीपंखा यात्रालाई धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुताको प्रतीकका रूपमा लिइन्छ।’
धार्मिकशास्त्र वृषावदानअनुसार, शाक्यमुनि बुद्ध वृषावतार हुँदा श्री नीलमहावृषरत्न नामकरण गरिएको बोधिसत्वको चरितार्थ कालान्तरमा ललितापुरी नगरीको प्रसिद्ध हिरण्यवर्ण महाविहारको योगाम्बर गुह्यालयमा अवस्थित नीलथूलाई पशुपतिनाथस्थित कैलाशमा तान्त्रिक विधिद्वारा लगी दिगबन्धनमा राखिएको थियो। नीलथूलाई पुन: हिरण्यवर्ण महाविहारमा फर्काउने क्रममा ऋद्धिसिद्धि, तन्त्रक्रिया र आकर्षणका विधिका कारण वृषदेव त्यहाँ बस्न नसकी तीन महिनासम्म भ्रमित भई भौतारिएका थिए। त्यसपछि उनी विभिन्न चैत्य, देवालय, शिवालय, पीठ तथा मठमन्दिरमा बास बस्दै योगाम्बर चक्रस्थलभित्र पुगे र पुगेलगत्तै हालको ललितपुरस्थित नागवहालमा सिद्ध भएका थिए। यसै घटनाको सम्झनामा पाँचवटा अति दुर्लभ योग परेका दिनमा दीपंखा यात्रा गरिँदै आएको पाइन्छ।