Monday, April 7, 2014

ललितपुरकी कुमारीमा युनिका



ललितपुर : ललितपुरकी कुमारीमा अग्निसालनिवासी सात वर्षीया युनिका बज्राचार्य छानिएकी छन्। ललितपुर तलेजु मन्दिरका मूलपुजारीकी पत्नीले आइतबार दुई बालिकामध्ये युनिकालाई छनोट गरेकी हुन्।
कुमारीघरका पूजारी बुद्धरत्न बज्राचार्यले शरीरमा कुनै दाग, खत नभएको र चिना हेर्दा सम्पूर्ण पक्ष सही ठहरिनेलाई कुमारीमा छनोट गर्ने चलन रहेको बताए। उनले भने, 'तलेजु मन्दिरका मूलपुजारीकी पत्नीले छनोट गर्नुअघि साहसीपन, निडर र स्थिर हुन सक्ने-नसक्ने विषयमा परीक्षण गर्नुहुन्छ।' ललितपुरमा कुमारी हुने अवसर बज्राचार्यले मात्र पाउने परम्परा छ।
यसअघि हकबालनिवासी समिता बज्राचार्य कुमारी थिइन्। कुमारी रजस्वला भएपछि नयाँ छानिन्छ। समिता गत फागुन ११ गते कुमारीबाट बाहिरिएकी थिइन्। समिता मूलपुरोहितबाट छनोट हुने पहिलो कुमारी हुन्। राजसंस्था हुँदा बडागुरुज्यूले कुमारी छनोट गर्ने परम्परा थियो।
नयाँ कुमारी छनोटका लागि गाबहालनिवासी तीन वर्षीया एन्जिला बज्राचार्यलाई पनि चण्डेश्वरी मन्दिरछेउको पिम्बहाल पुर्‍याइएको थियो। युनिका र एन्जिलालाई हकबालस्थित रत्नाकर महाविहारस्थित कुमारी घरमा लगिएको थियो। युनिकाका ३९ वर्षीय बुबा रमेशले भने, 'भगवान्को चाहना यही रहेछ। छोरी कुमारी भएकोमा हामी दुवै खुसी छौं।' रमेश मूर्तिकार हुन् भने पत्नी सबिता कस्मेटिक पसल सञ्चालन गर्छिन्। युनिकाको एक दिदी र एक भाइ छन्।
महाविहार संरक्षण समितिका सचिव तेजमान बज्राचार्यले युनिकालाई चार दिनपछि पुरोहित हेर्मानन्द बज्राचार्यको घरमा लगेर कुमारीका रूपमा पूजा गरिनेछ। उनले भने, 'त्यसपछि सिन्दुरजात्रा गर्ने चलन छ।'
युनिका पूर्णचण्डीस्थित भासरा बोर्डिङ स्कुलमा अध्ययनरत छिन्। उनी नयाँ शैक्षिक सत्रबाट कक्षा १ मा पढ्नेछिन्। अब उनलाई शिक्षकले घरैमा आएर पढाउने जानकारी सचिव तेजमानले दिए।
गुठी संस्थान ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले गुठीबाट सम्पादन गर्ने जात्रापर्वमा कुमारी आवश्यक पर्ने बताए। रातो मच्छिन्द्रनाथको जात्राको महास्नान र रथ यात्राका क्रममा, भोटो जात्रा देखाउँदा, तलेजु मन्दिरलगायतमा कुमारीको विशेष पूजा र महत्त्व हुन्छ।
गुठीले कुमारीलाई मासिक तीन हजार खर्च दिँदै आएको छ। यसबाहेक जात्रापर्वमा चढाइने भेटी र घरमा दैनिक दर्शन गर्न आउनेले चढाउने भेटीघाटी पनि कुमारीको आम्दानीका रूपमा रहन्छ।

मिति : २०७० चैत २४, सोमबार

No comments:

Post a Comment