Sunday, April 13, 2014

पशुपतिनाथको आम्दानी १७ करोड


काठमाडौं : पशुपतिनाथ मन्दिरबाट भेटीबापत १७ करोड रुपैयाँ संकलन भएको छ। पशुपति क्षेत्र विकास कोषले मन्दिर तथा पूजा व्यवस्था नियमावली २०६८ लागू गरेपछि उक्त रकम कोषमा दाखिला भएको हो।
यसअघि मूलभट्ट र भट्टले पशुपतिनाथको आम्दानी वार्षिक बढीमा एक लाख रुपैयाँ संकलन भएको जानकारी दिने र सो रकम बाँडफाँट गरेर लिने गर्थे।
कोषले २०६८ चैत २६ गतेदेखि पशुपतिनाथको दैनिक आम्दानी गणना गरेर कोषमा दाखिला गर्न थालेको छ।
कोषका लेखापाल सूर्यबहादुर भाटका अनुसार पशुपतिनाथको दानभेटी, बासुकी मन्दिरको दानभेटी, विशेष पूजा, हुन्डी, हनुमान र नारायणको मूर्तिबाट दुई वर्षमा १६ करोड ८१ लाख १४ हजार पाँच सय ७९ रुपैयाँ संकलन भएको छ।
२०६८ चैत २६ देखि २०७० चैत २५ सम्म पशुपतिनाथबाट आठ करोड ३६ लाख ६ हजार ४७, वासुकीबाट २९ लाख ७६ हजार ४८, विशेष पूजाबाट ६ करोड ९७ लाख ५२ हजार चार सय ७८, हुन्डी (चन्दा बाकस) बाट ८० लाख एक हजार चार सय चार र हनुमान र नारायणबाट ३८ लाख २६ हजार नौ सय दुई रुपैयाँ संकलन भएको थियो।
भाटले भने, ‘वासुकीको आ दानी त त्यतिबेला कहिल्यै सार्वजनिक गरिएन। यो मन्दिरमा भण्डारी छैनन्। रकमीले पाउँदैनथे। भट्टले सबै लैजान्थे।’
कोषका तत्कालीन सदस्यसचिव वसन्त चौधरीले हुन्डी राख्न थालेका थिए। हुन्डीबापतको रकममात्र कोषमा दाखिला हुन्थ्यो। मूलभट्ट र भट्टहरूले यसअघि विशेष पूजाको पहिल्यै बुकिङ गरेर पूजा लगाई रकम आफैं राख्थे।
नियमावली लागू भएपछि रसिदमार्फत अग्रिम बुकिङ भइरहेको छ। कोषका निर्देशक रमेश उप्रेतीका अनुसार नियमावली लागू भएपछि ऐनकानुनअनुसार पारदर्शी काम गर्न सजिलो भएको छ। उनले भने, ‘दुई वर्षको यो रकम संकलन हुनु धार्मिक पर्यटनबाट अथाह धनराशि आम्दानी हुने संकेत हो। यसबाट थुप्रै विकास गर्न सकिनेछ।’
भेटी पारदर्शी गर्न थालेपछि कोषले मूलभट्टलाई मासिक ४० हजार र चार भट्टलाई ३० हजारको दरले तलब दिइरहेको छ। मूलभट्टले पूजाबापत दैनिक तीन हजार र भट्टले दुई हजार पाँच सय भत्ता पाएका छन्। यसबाहेक अन्य सुविधा पनि उनीहरूले पाउँदै आएका छन्।
कोषका सदस्यसचिव गोविन्द टन्डनले भने, ‘मूलभट्ट, भट्टहरू, भण्डारी, विसेट र रकमीहरूलाई तलबसुविधा भेटी रकमबाटै दिइन्छ। खर्च कटाई बचेको रकम कोषमा राखिन्छ।
कोषबाट मन्दिरको जीर्णोद्धार, पुनर्निर्माण तथा धार्मिक एवं सामाजिक कार्य गरिन्छ।’ उनले मन्दिर परिसरका शीतला, कीर्तिमुख भैरव, लालगणेश, सूर्यनारायण, सन्ताप हरेश्वरलगायतको भेटी पनि पारदर्शी गर्न लागिएको बताए। उनले भने, ‘विगतको अवस्था जे भए पनि अब सबैले आफ्नै मन्दिर भनेर गर्व गर्न पाउने अवस्था बन्दैछ।’
पशुपति क्षेत्र विकास कोषको कार्य सम्पादन समितिको शुक्रबार बसेको बैठकले विशेष पूजा गरेबापत मूलभट्ट र भट्टलाई १५ प्रतिशत रकम दिने प्रस्ताव अघि सारेको छ। कोषको सञ्चालक परिषद्को आइतबार बस्ने बैठकले समितिको प्रस्तावबारे छलफल गर्दैछ।

मूलभट्टले पाउने सुविधा
मासिक तलब : ४० हजार
मासिक पूजाभत्ता : ९० हजार
पर्व खर्च : मासिक ४० हजार
वर्षभरि पूजा गरेकोमा : ४० हजार
अतिथि सत्कार : मासिक ३० हजार
चाडपर्व मनाउन : मासिक ३० हजार
सवारीखर्च : मासिक ८० हजार
घर जानआउन : वार्षिक ४० हजार
टेलिफोन : मासिक एक हजार पाँच सय
बिमा : चार लाख
अन्य : उपचारखर्च सेवा अवधिभर १२ महिनाको तलब
उपदान, सञ्चय कोष र आवास सुविधा


No comments:

Post a Comment