Monday, April 14, 2014

ज्योतिषी भन्छन्, २०७१ मा जनताले सुख पाउनेछन्





काठमाडौं : ज्योतिषशास्त्रअनुसार २०७१ सालमा राजा र मन्त्री दुवै चन्द्रमा छन्। चन्द्रमा राजा हुँदा मांगलिक कार्य बढ्ने ज्योतिषीको अनुमान छ। नेपाल पाञ्चांग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेल भन्छन्, '२०७१ सालमा राजा र मन्त्री दुवै चन्द्रमा भएकाले जनताले सुख पाउने सम्भावना छ। जनताका हितमा राम्रा काम धेरै हुन्छन्। दीर्घकालीन लाभ हुने खालका योजना सुरु हुनेछन्।' यस वर्ष प्लवंग नाम संवत्सर परेको छ।
थुप्रै समस्या उत्पन्न भए पनि देशले उन्नति गरी नयाँ बाटो लिने दाबी ढुंगेलको छ। उनी भन्छन्, 'वर्षको लग्नमा मालिक दसौं स्थानमा निच राशिमा रहेकाले सरकारी निर्णय गलत र विवादित हुनेछन्।' राजनीतिक क्षेत्रमा नयाँनयाँ शक्ति देखा पर्ने उनको भनाइ छ। उनका अनुसार २०७१ सालमा वैदेशिक सम्बन्ध राम्रो हुनेछ। वर्षा राम्रो भएर बालीनाली सप्रिने भए पनि हिउँदे बाली उत्पादन कम हुने सम्म्भावना छ। उनी भन्छन्, 'यस वर्ष धार्मिक कृत्यहरू बढ्नेछन्।'
अर्का ज्योतिषी टेकराज शास्त्री भन्छन्, 'वार्षिक कुण्डली मिथुन लग्नबाट सुरु हुन्छ। लग्नमै बृहस्पति बसेको छ। लग्नेश बुध उच्च स्थानमा बृहस्पतिको घरमा बसेको छ। यस्तो अवस्थामा सरकारी निर्णयविवादास्पद पर्न सक्छन्।' यद्यपि वर्षको उत्तरार्द्धमा केही महत्त्वपूर्ण कार्य सफल हुने उनको भनाइ छ।
२०७१ साल शनिको उच्च दृष्टि भएको वर्ष हो। विवाद भए पनि संविधानको मस्यौदामात्र आउने दाबी उनको छ। उनी भन्छन्, 'पूर्ण संविधान तोकिएको समयमा मुस्किल छ। सरकारका प्रशासनिक निर्णय विवादमा पर्नेछन्।'
उनका अनुसार कात्तिक २५ गतेदेखि शनि वृश्चिक राशिमा प्रवेश गर्ने र नेपालको राशि पनि वृश्चिक भएकाले विवादका बीच पनि केही कानुनी र प्रशासनिक सफलता मिल्नेछन्। खण्डवृष्टिका कारण साउनपछि हुने बाढीपहिरोले देश र जनतालाई नोक्सान पार्ने उनी बताउँछन्। उनी भन्छन्, 'वृश्चिक र तुलामा शनि बसेकाले देशमा भय र तनाउ उत्पन्न हुने देखिन्छ।'
ज्योतिषी हेमसागर ढुंगेल आगामी माघ ८ गते संविधान जारी नहुने दाबी गर्छन्। 'राजनीतिक सहमतिमा गडबढ हुने देखिन्छ। त्यसैले मस्यौदासम्म जारी हुन्छ', उनी भन्छन्, 'राम्रो बेला भए पनि योग गलत छ। त्यसैले संविधान जारी हुन जनदबाब आउनुपर्छ।' मस्यौदा आएको मितिले ६ महिनाभित्र मात्र पूर्ण संविधान जारी हुने ढुंगेलको भनाइ छ।
उनी भन्छन्, 'राजनेताहरूले 'हामी जनताका नोकर हौं' भन्ने सोचाइ राख्न सके भने संविधान बन्छ। तर राजनीतिक पार्टीभित्र सकारात्मक सोच आउने देखिन्न। कि त नेतालाई कुनै तवरबाट नियन्त्रण गर्ने वातावरण बनाइनुपर्छ।' संविधानका लागि राजनेताहरूले विशेष अठोट देखाउन सक्नुपर्ने उनको भनाइ छ।
उनी भन्छन्, 'पाँचदेखि १० वर्षसम्म प्रजातान्त्रिक स्वतन्त्रता चाहने शक्तिहरूले राज गर्ने योग छ। सशस्त्र वा हतियारधारीले सत्ता कब्जा गर्ने सम्भावना छैन। उनीहरू पनि ज्ञान र सीप सिक्ने अनि धार्मिक सत्संगतिर लाग्ने देखिन्छ।' उनी बाहिरी आम्दानीबाट यो वर्ष देश सबल हुने बताउँछन्। 'म राष्ट्रलाई माया गर्छु' भन्ने मानिसहरूको संख्या बढ्ने र त्यसले देशभित्र कलकारखाना र उद्योगधन्धा थपिने र विकासको बाटो खुल्ने देखिएको उनको भनाइ छ।
उनी थप्छन्, 'तर विदेशी संस्कृतिको प्रभाव बढी हुनेछ। आफ्नो संस्कृतिको अनुसरण गर्न पनि राजनेताकै अनुसरण गर्नुपर्ने देखिन्छ।' उनले नेपाली साहित्य पनि राजनीतिकै वरिपरि घुम्ने दाबी गरे। सांगीतिक क्षेत्रमा अपेक्षा बढी हुने तर प्रतिफल कम हुने उनको भनाइ छ।
राष्ट्रिय महिला ज्योतिष संघकी अध्यक्ष रतिदेवी भन्छिन्, 'भाग्येश, कर्मेश र लाभेशमा क्रमश: शुक्र, बुध र केतु-सूर्य रहेको हुँदा देशमा केही असल काम हुँदैछन्।' आर्थिक क्षेत्र बलियो हुने र देश संवृद्धितिर अघि बढ्ने उनको ठहर छ। संविधान निर्माणको काम ७५ प्रतिशतमात्र हुने उनले भविष्यवाणी गरिन्। स्थानीय निकाय निर्वाचन भने नहुने उनको आकलन छ।
'तर पनि नेतामा बुद्धि बढ्ने र जनतासँग मेलमिलाप हुने देखिएको छ', श्रेष्ठ थप्छिन्, 'परराष्ट्र नीतिमा धेरै सुधार आउँदैन तर पनि विदेशी सहयोग जारी हुनेछ।' बृहस्पति लग्नमा बसेकाले युवा बिदेसिने क्रममा भने कमी नआउने उनको भनाइ छ। उनका अनुसार राजनीतिक अन्योल हट्ने, भ्रष्टाचार र चोरीडकैती कम हुनेछ।
भविष्यवाणी
संविधानको मस्यौदा जारी हुन्छ
राजनीतिमा नयाँ शक्तिको उदय हुनेछ
केही प्रशासनिक निर्णयहरू गलत हुनेछन्
बाढीपहिरोले जनधनको क्षति गर्छ
कलकारखाना र उद्योग थपिन्छन्
भ्रष्टाचार र चोरीडकैती कम हुन्छ
साहित्य राजनीतिवरिपरि घुम्छ
विदेशी संस्कृतिको प्रभाव बढ्छ
आर्थिक उन्नति हुनेछ
युवा बिदेसिने क्रम बढ्छ

मिति : २०७१ बैशाख १, सोमबार

No comments:

Post a Comment