Saturday, April 19, 2014

बागमती किनारमा २२ बगैंचा बन्दै





काठमाडौं : बागमती नदीको दायाँबायाँ २२ वटा बगैंचा निर्माण हुने भएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत आयोजनाको स्वीकृतिमा सरकारी एवं गैरसरकारी संघसंस्थाले झन्डै दुई दर्जन बगैंचा बनाउने काम धमाधम भइरहेको छ।
राष्ट्रिय वाणिज्य ब्यांक, नेपाल नागरिक उड्डयन प्राधिकरण, सशस्त्र प्रहरी, नेपाल प्रहरी सामुदायिक सेवा र विज्ञानप्रविधि तथा वातावरण मन्त्रालयको विभागले बगैंचा बनाउनेछन्। यसैगरी निजी क्षेत्रबाट गैरआवासीय नेपाली संघ, नेपाल विज्ञापन संघ, प्याब्सन, निजामती कर्मचारी श्रीमती संघ, नेपाल सोका गाक्काई इन्टरनेसनल, जीवन विज्ञान, नेसनल भोलेन्टियर एसोसिएसन, सांग्रिला टुर्स एन्ड होटेल ट्रेनिङ सेन्टर, भीएस निकेतन र कान्तिपुर पब्लिकेसनले बनाउने भएका हुन्।
आयोजनाका वृक्षरोपणविज्ञ रामदयाल यादवले हालसम्म बगैंचा बनाउन पाँचवटा सरकारी र १० वटा गैरसरकारी क्षेत्रका संघसंस्थाले अनुमति पाएको जानकारी दिए। उनले भने, 'आधा दर्जनजतिले काम थालिसकेका छन्, बाँकीले एक साताभित्रै थाल्दैछन्। यीबाहेकका नौवटा संघसंस्था प्रक्रियामा छन्। अन्य सातवटाले पनि रुचि देखाएका छन्।'
अहिलेसम्मको तथ्यांकअनुसार सबैभन्दा ठूलो बगैंचा गैरआवासीय नेपाली संघले बनाउने भएको छ। आयोजनाका सामाजिक परिचालक कुमार सिम्खडाका अनुसार बागमती नदीको उत्तर किनार बगलामुखी जाने पुलदेखि पूर्व (शंखमूलघाट अगाडिको पूरै जग्गा) ३१ रोपनी १४ आनामा उक्त बगैंचा बन्ने भएको हो। उक्त बगैंचा चार सय मिटर लम्बाइ र ७२ मिटर चौडाइ अर्थात् १६ हजार दुई सय ४२ वर्गमिटरको हुने जानकारी उनले दिए।
ब्यांकले नदीको पश्चिम किनार पहेंलो पुलदेखि दक्षिणतर्फ बाँसको झाङसम्म करिब १३ आनामा, सशस्त्रले नदीको पश्चिम किनार सिनामंगल भत्केको पुलदेखि उत्तरतर्फ तीन रोपनी आठ आनामा, प्राधिकरणले नदीको पूर्वी र पश्चिम किनार सिनामंगल नयाँ पुलदेखि दक्षिणपश्चिम किनारमा आठ रोपनी १५ आनामा, सामुदायिक प्रहरीले नदीको पूर्वी पश्चिम किनार बानेश्वर क्याम्पस पुलदेखि दक्षिणतर्फ १० रोपनी पाँच आना र विभागले बानेश्वर क्याम्पस पुलदेखि उत्तर नीलो पुलसम्म तीन रोपनी साढे दुई आनामा बगैंचा बनाउनेछन्।
यसैगरी गाक्काईले नदीको पूर्वी किनार नीलो पुलदेखि दक्षिणतर्फ एक रोपनी १० आनामा, जीवन विज्ञानले सिनामंगल भत्केको पुलको डाइभर्सन पुलदेखि उत्तर करिब ६ आना, भोलेन्टियर एसोसिएसनले बानेश्वर क्याम्पस पुलदेखि उत्तर सुकुमबासी बस्तीनजिकको नीलो पुलसम्म करिब आठ आना, भीएसले आफ्नै स्कुल र क्याम्पसको छेउछाउ दुई रोपनी ११ आनामा बगैंचा निर्माण गर्नेछन्।
यसैगरी सांग्रिला टुर्सले भीएस स्कुलनजिकको मन्दिरभन्दा दक्षिणतर्फ एक रोपनी तीन आनामा, कान्तिपुरले मीनभवन पुलदेखि उत्तरपूर्वी किनारमा तीन रोपनी तीन आनामा, श्रीमती संघले गाक्काई र जीवन विज्ञानको बीचको एक रोपनी १३ आनामा, प्याब्सनले भीएसको क्याम्पस भवनअगाडि साढे ११ आनामा र विज्ञापन संघले मीनभवन पुलदेखि उत्तरपश्चिम किनारमा १० आनामा बगैंचा बनाउनेछन्।
स्वीकृत भएका र प्रक्रियामा रहेका सबै संघसंस्थाले तिलगंगादेखि शंखमूलसम्मको नदीकिनार क्षेत्रमा बगैंचा बनाउन पाउने सिम्खडाको भनाइ छ। आयोजनाले दोस्रो चरणमा गौरीघाटदेखि थापाथलीसम्मको क्षेत्रमा अनुमति दिनेछ।
बगैंचाका लागि किनारबाट बाहिर पाँचदेखि ३० मिटर चौडाइसम्मका जग्गा उपलब्ध छन्। यादवका अनुसार नदीछेउमा पानी प्रशोधन गर्ने खालका बोटबिरुवा र बाटोपट्टि धुपी, पारिजात, कपुर र क ल्ट्री जातका बिरुवा रोपिनेछ। बगैंचामा निर्माण गर्ने संस्थाले आफ्नो परिचय खुल्ने बोर्ड राख्न पाउनेछ।
निर्माणपछि संरक्षण र मर्मत गर्ने जिम्मा पनि सोही संस्थाले लिने उनको भनाइ छ। बगैंचामा मौसमअनुसारका फूल र केहीमा फोहोरासमेत रहने जानकारी उनले दिए। उनले भने, 'असार दोस्रो सातासम्म ७५ प्रतिशत काम सकिनेछ।'

मिति : २०७१ बैशाख ६, शुक्रबार 

No comments:

Post a Comment