- गोपीकृष्ण ढुंगाना

काठमाडौं : ‘मानिसमा स्वाभाविक रूपमा यौनप्रति चासो छ, खुलेर छलफल गर्ने समाज नभएकाले मानिस लुकेर यसबारेको साहित्य पढ्छ’, साहित्यकार शारदा शर्माले ‘साहित्यमा ग्लामर’ को सन्दर्भमा भनिन्। नेपाल लिटेरेचर फेस्टिभलको पहिलो दिन शुक्रबार राजधानीमा उनले थपिन्, ‘लेख्‍ने जीवनबारे नै हो, जीवनसँग माया, घृणा, अपराध र यौन सबै जोडिएकै हुन्छन् त्यसैले यो प्रतिविम्बित भएको हो।’
लेखक शारदा शर्मा, नारायण वाग्ले र सुविन भट्टराई ।
लेखक शारदा शर्मा, नारायण वाग्ले र सुविन भट्टराई ।
बुकवर्म फाउन्डेसनले आयोजना गरेको चारदिने साहित्य सम्मेलनको पहिलो दिन भएको ‘साहित्यमा ग्लामर : कति फाइदा, कति हानि’ विषयक प्रस्तुतिमा शर्मा, नारायण वाग्ले र सुविन भट्टराई सहभागी थिए। वाग्लेले भने, ‘साहित्यमा ग्लामर पुस्तकलाई बजारमा पुर्‍याउने प्रक्रियाको अंश हो। विषयवस्तु नराम्रो र प्रचारप्रसार बढी भयो भने त पाठक सर्वोच्च अदालतमा बसेकै छन्।’ भट्टराईले साहित्यमा ग्लामर राख्ने वा नराख्ने र त्यसबाट पाठकलाई प्रभाव पर्ने विषयमा लेखक स्वयं जिम्मेवार हुनुपर्ने बताए। उनले भने, ‘साहित्यमा ग्लामर फाइदाकै विषय हो, किनकि पाठक स्वत: यसमा आकर्षित भएका छन्। समूहमा जाने विषय भएकाले आकर्षण भएन भने त्यो पढिन्नँ।’
प्रस्तोता वसन्त बस्नेतले प्रश्न गरे, ‘साहित्यमा ग्लामरको अग्रगामी छलाङ कसरी सम्भव भो?’ वाग्लेले पहिलेजस्तो अहिले समालोचकले राम्रो भनिदिनु नपर्ने र पैसा तिरेर विज्ञापनसमेत गर्नु नपर्ने भएकाले ग्लामर साहित्य अघि बढेको बताए। उनले थपे, ‘किनकि अहिले फेसबुक, ट्विटरजस्ता सामाजिक माध्यम छन्, विगतमा थिएन।’ शर्माले एक दशकयता साहित्यमात्र नभई हरेक विधा स्वतन्त्रतापूर्वक विकसित भएको बताइन्। भनिन्, ‘लेख्नेलाई पनि त्यो लेखे पढिन्छ भन्ने आत्मविश्वास बढेको छ।’
भट्टराईले पनि ग्लामर प्रस्तुत गरिएको साहित्य लेखेर बाँच्ने दिन लेखकका सुरु भएको बताए। बस्नेतले थपे, ‘के तत्त्व छ त्यस्तो, जसले साहित्यलाई ग्लामर बनाउँछ?’ शर्माले साहित्य जीवनसँग र साहित्य ग्लामरसँग घनिष्ट रहेको बताइन्। थपिन्, ‘मलाई कि पढेर आनन्द आउँछ कि लेखेर, किनकि साहित्य आफैंमा ग्लामर हो।’ वाग्लेले पनि साहित्यमा कलाको विविध आयाम हुने भएकाले साहित्य आफैंमा ग्लामर भएको तर्क गरे।
बस्नेतले ग्लामर साहित्य बिकाउने तरिका हो भनी सोधेको प्रश्नमा वाग्लेले भने, ‘साहित्यमा ग्लामर त नेपालमा मात्र होइन, न्युयोर्क, पेरिस, भारत सबैतिर छ। यो प्रगतिशील र गैरप्रगतिशील सबै खालका लेखकलाई चाहिन्छ।’ ‘पहिले देवकोटा, सम सबैले साहित्य लेख्थे त्यो अहिले पनि रसले पढिन्छ, लेख्नलाई सबैले लेख्छन् तर किन सबैको चर्चा हुन्न?’, बस्नेतको यो सवालको वाग्लेले जवाफ दिए, ‘समयले भिन्दै बहाव ल्याएको छ, विभिन्न कुराको संयोगले लेखक जन्मन्छ। उतिबेलाका साहित्य अझै पनि पढिन्छन्, त्यो ग्लामरले नै हो। जुन लेखकले समय, परिवेश र पाठकलाई चिन्न सक्दछ उसकै लेखनी रुचाइन्छ।’
शर्माले भने लेखकको गुणस्तर, उसको व्यक्ति त्व र रचनाको व्यक्ति त्वलाई बजारीकरण गर्ने प्रवृत्ति गरी तीन किसिमले चर्चा हुने बताइन्। उनले थपिन्, ‘ग्लामरलाई अतिरिक्त उत्तेजना फैलाउने ढंगले लिइन्छ तर म मनोरञ्जनसँगै विषयको कलात्मक प्रस्तुतिलाई ग्लामर ठान्छु।’ भट्टराईले भने, ‘गुदी खराब तर बोक्रोमात्र झिल्के छ भने त्यो कसरी बिक्छ? ग्लामरलाई यौन बुझ्ने हो भने यसले त सुनमा सुगन्ध थपिदिन्छ।’