काठमाडौं (अन्‍नपूर्ण) : नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय भाषाहरूमा अनुवाद गरेर विश्वभर पुर्‍याउने निष्कर्ष निकाल्दै प्रथम विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ। विश्व नेपाली साहित्य महासंघले शुक्रबार राजधानीमा आयोजना गरेको एकदिने उक्त सम्मेलनले अनुवादलगायतका विभिन्न एघारबुँदे घोषणापत्र जारी गरेको छ।
सम्मेलनमा महासंघका अध्यक्ष विश्वदीप तिगेलाले विश्वभर नेपाली साहित्य विस्तार, विकास, संवद्र्धन, प्रवद्र्धन र हौसलाका लागि आवश्यक सबै काम गर्ने बताए। उनले घोषणापत्र प्रस्तुत गर्दै भने, ‘विश्वभरका मुलुकमा रहेका नेपाली साहित्यकार, साहित्य, साहित्यिक गतिविधि र साहित्यिक संघसंस्थाबारे जानकारी लिने, तिनको अभिलेख राख्‍ने, साहित्यिक समस्या समाधानका लागि पहल गर्नेजस्ता काम गर्नेछौं।’
पत्रमा साहित्यिक व्यक्ति त्व तथा स्रष्टाबीच आपसमा चिनजान, मित्रता, भातृत्व, सहिष्णुता, सद्भाव र सहयोगको अभिवृद्धि गर्दै सम्पर्क सेतुको काम गर्ने, साहित्यिक हक अधिकारका लागि हरपल कार्यरत रहने, नेपाली परिचयलाई विदेशमा सम्मानित र उच्च पहिचानयुक्त बनाउने जस्ता बुँदा समेटिएका छन्।
सम्मेलनमा तीनवटा कार्यपत्र प्रस्तुत गरिएका थिए। प्राडा गोविन्दराज भट्टराईले ‘नेपाली साहित्यको उन्नतिमा अनुवादको आवश्यकता र चुनौती’, प्राज्ञ अमर तुम्याहाङले ‘नेपाली मातृभाषामा लेखिएका नेपाली साहित्य : एक अवलोकन’ र महेश पौड्यालले ‘अंग्रेजीमा नेपाली साहित्य : एक निरीक्षण’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। भट्टराईले बर्सेनि ३० देखि ४० वटा शीर्षकहरूमा अनुवादमा भइरहेको बताए।
एक्काइसौं शताब्दीलाई अनुवादको शताब्दी भनिएको उल्लेख गर्दै उनले भने, ‘तर यी सबै व्यक्ति गत खर्च र प्रयत्‍नले भएका छन्। जेहोस्, अनुवाद साँघु चढेर विभिन्न संस्कृतिमा पुग्ने र फर्किने युग हो।’ तुम्याहाङले मुलुकका सम्पूर्ण भाषासाहित्यको समुचित विकासका लागि छुट्टै भाषासाहित्य प्रतिष्ठान गठन गरिनुपर्नेमा जोड दिए। उनले भने, ‘निरंकुशतामा अधिकांश भाषाको साहित्यिक अवस्थामा दमित रह्यो भने केही भाषा कठ्यांग्रिएर बाँचे, केही भएको छ भने २०४६ सालको प्रजातन्त्रपछि भएको छ।’
‘नेपाली साहित्य, नेपाली पहिचान : समृद्ध साहित्य, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनमा सिक्किम विश्वविद्यालय नेपाली विभाग प्रमुख प्राडा कविता लामा, काशी हिन्दू विश्वविद्यालय वनारसका प्राडा दिवाकर प्रधान, भारतीय साहित्य अकादमी परामर्श समितिका अध्यक्ष प्रेम प्रधान, सिक्किमका साहित्यकार डा. राजेन्द्र भण्डारीलगायतले भारतमा नेपाली भाषा र साहित्यको अवस्थाबारे बोलेका थिए।
विश्वका १४ मुलुकमा १९ शाखा रहेको महासंघले सम्मेलनमा डा. राजेन्द्र भण्डारीलाई ५० हजार नगद र ताम्रपत्रसहितको विश्व नेपाली साहित्य पुरस्कार प्रदान गरेको थियो। यसैगरी, २५ हजार र ताम्रपत्रसहितको विश्व नेपाली साहित्य युवा पुरस्कार विमला तुम्खेवा, १० हजार नगदको भाषाभाषी साहित्य पुरस्कार श्यामसुन्दर शशीलाई प्रदान गरेको थियो।