Wednesday, February 5, 2014

Bagmati ma Phohor Garne Pakrau बागमतीमा पिसाब गर्ने पनि पक्राउ


काठमाडौं : बागमती नदी सरसफाइ अभियान चलिरहेका बेला तिलगंगा आँखा अस्पतालले नदीकिनारमा फोहोर फालिरह्यो। सूचना पाएपछि काठमाडौं महानगरपालिकाले अस्पतालका कर्मचारी पक्राउ गर्‍यो र ३० हजार रुपैयाँ जरिबाना गर्‍यो।

सिनामंगलकी शोभा खड्का चिया पसलमा भाँडा माझेको पानी नदीमा फाल्थिन्। महानगरपालिकाले एक हजार पाँच सय रुपैयाँ जरिबाना तिराएपछि उनले फोहोर मिसाउन छोडिन्।

हिँड्दै तीनकुने पुगेका जडीबुटीनिवासी सिन्धुपाल्चोक साँगाचोकका गिरी थरका २७ वर्षीय एक युवकले बागमती नदीमै पिसाब गरे। प्रहरीले देखेपछि उनी पक्राउ परे। आइन्दा नदीमा फोहोर नगर्ने निवेदनसहित बिलबुक र लाइसेन्सको फोटोकपी छोडेर उनी छुटे।

बागमतीमा फोहोर गर्नेलाई सरकारले कारबाही गरिरहेको छ। अभियानको ४० सातासम्म महानगरपालिकाले ११ जनालाई कारबाही गरी ७८ हजार रुपैयाँ जरिबाना असुलेको छ। फोहोर गरेबापत कार्यालय तथा सर्वसाधारणले पाँच सयदेखि ३० हजार रुपैयाँसम्म जरिबाना तिरेका छन्।

फोहोरमैला व्यवस्थापन ऐन २०६८ मा नदीमा फोहोर गर्नेलाई पाँच सयदेखि एक लाख रुपैयाँ वा तीन महिना कैद वा दुवै सजाय हुने उल्लेख छ। महानगरपालिकाको वातावरण व्यवस्थापन महाशाखाका प्रमुख रविनमान श्रेष्ठका अनुसार फोहोर फाल्नेलाई पक्राउ गरी फोहोरको मात्रा र प्रकारका आधारमा जरिबाना तोकिन्छ। श्रेष्ठले भने, 'मोटरसाइकल र कारमा लगेर नदीमा फोहोरका पोका फाल्ने पनि धेरै छन्।'

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका अनुसार गत भदौ ८ गते कृष्ण खत्रीलाई बागमतीमा फोहोरको पोको फालेबापत पाँच हजार रुपैयाँ जरिबाना गरिएको थियो। १० गते गाडीका काम नलाग्ने सामग्री नदीमा फालेका राजेश श्रेष्ठलाई १० हजार रुपैयाँ जरिबाना गरिएको थियो। सुकमान तामाङले पनि काठका काम नलाग्ने टुक्रा फालेबापत १५ गते एक हजार जरिबाना तिरेका थिए।

तिलगंगा आँखा अस्पतालले पनि दैनिक नदीमा फोहोर फालेको थाहा पाएपछि महानगरपालिकाले ३० हजार रुपैयाँ तिराएको छ। कात्तिक २ गते कार हाँकिरहेका ध्रुव खनालले गाडीबाटै फोहोर फालिरहेको देखेपछि उनलाई पक्राउ गरी १० हजार जरिबाना तिराएर छोडियो।

मेघराज गुरुङले पनि गाडीबाटै नदीमा फोहोर फालेका कारण पाँच हजार जरिबाना तिर्नुपर्‍यो। ट्याक्टरबाट बागमतीमा फोहारे फाल्दै गरेका हरिशरण महतले पनि पाँच हजार तिरे।

बागमतीमै फोहोर फाल्दै गर्दा माघ १७ गते ज्योति प्रसार्इं पक्राउ परिन् र तीन हजार रुपैयाँ जरिबाना तिरेर उम्किइन्। गत शनिबार पनि दिलकृष्ण श्रेष्ठ र शोभा श्रेष्ठले बागमतीमा फोहोर फालेबापत क्रमश: पाँच हजार र एक हजार पाँच सय जरिबाना तिनुपर्‍यो।

फोहोर फाल्नेको अनुपातमा महानगरपालिकाले गरेको कारबाही संख्या भने न्यून छ। विभागका प्रमुख साधुराम भट्टराईले भने, 'फोहोर फाल्नेहरूको संख्या यतिमात्र होइन। तर हामीलाई प्राप्त सूचनाका आधारमा पक्राउ परेका मात्र कारबाहीमा परेका हुन्।'

बागमतीको निगरानीका लागि सादा पोसाकमा प्रहरी पनि खटिएका छन्। सफाइ अभियान ४० औं सातामा चलिरहेको छ।

मोडेल अस्पताललाई ५० हजार जरिबाना
महानगरपालिकाले बागबजारस्थित काठमाडौं मोडेल अस्पताललाई सार्वजनिक स्थानमा फोहोर फालेबापत ५० हजार रुपैयाँ जरिबाना तिर्न सोमबार पत्राचार गरेको छ।

महानगरको वडा नम्बर १९ र २१ को सीमामा पर्ने मचलीमा पटकपटक फोहोर फालेको प्रमाणित भएपछि तीन दिनभित्र जरिबाना तिर्न महानगरले मोडेललाई पत्राचार गरेको हो। फोहोरको पोकामा अस्पतालका कागज भेटिएपछि महानगरले अस्पताललाई जरिबाना तिराउने निर्णय गरेको वातावरण प्रशासन महाशाखा प्रमुख हरि कुँवरले बताए।

मिति : २०७० माघ २२, बुधबार

No comments:

Post a Comment