Sunday, February 23, 2014

लोडसेडिङले बचायो जहाज दुर्घटनाबाट



काठमाडौं : जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरमा कार्यरत लेखा अधिकृत राजेन्द्र पराजुलीले बढुवा भएपछि पदस्थापनका लागि जुम्ला जान नेपाल वायुसेवा निगमको टिकट लिएका थिए।
कार्यालयको सबै काम सकेर जुम्ला जाने तयारी गरिरहेका पराजुलीले लोडसेडिङका कारण बुझबुझारथ गर्न नपाएपछि फागुन ४ गतेको हवाई टिकट रद्द गरे।
गत आइतबार मध्याह्न १२ बजे निगमको विमान जुम्लाका लागि उड्दा उनी भने भक्तपुर कार्यालयमा बुझबुझारथ गर्दै थिए। दिउँसो एक बजेतिर सैंबुस्थित घरबाट पत्नी एलिनाले टेलिफोन गरिन्, ‘निगमको (९ एन अल्फा ब्राभो ब्राभो) जहाज हराएछ नि !’
खबर सुनेपछि पराजुलीको होसहवास उड्यो। ‘आफूले टिकट रद्द गरेको जहाज हराएको थाहा पाएपछि मुटु नै काँप्यो’, ४६ वर्षीय पराजुलीले अन्नपूर्णसँग भने।
त्यसपछि उनको मोबाइल फोनमा लगातार घन्टी बज्न थाल्यो, ‘धन्य तपाईं जानुभएनछ’, ‘पुनर्जन्म पाएकोमा बधाई।’ एक घन्टाभन्दा बढी टेलिफोनबाट लगातार आएको यस्तो प्रतिक्रियाले आफूलाई पुनर्जन्म पाएको महसुस गराएको उनले बताए।
‘मैले रद्द गरेको टिकट कसैले नलिएको भए उसको पनि जीवन बाँच्थ्यो भन्ने लाग्यो’, दुई छोराका बाबु पराजुलीले भने, ‘अरूको घरमा पीडाले रुवाबासी छ, हाम्रोमा खुसी।’ उनले टिकट काटेको जहाज अर्घाखाँचीको मसिनालेकमा दुर्घटना हुँदा त्यसमा रहेका सबै १८ जनाको मृत्यु भएको थियो।
पराजुलीले भने, ‘काम सकिन्छ भन्ने सोचेर टिकट काटेको थिएँ तर लोडसेडिङले नसकिने भयो। बुझबुझारथ गर्न आवश्यक प्रतिवेदन तयार पार्न ढिला भयो। त्यसैले फिर्ता गरेको थिएँ।’
कार्यालयमा कम्प्युटरका लागि बिजुलीको ब्याकअप नभएका कारण उनले समयमै काम पूरा गर्न पाएका थिएनन्। झापा अनारमुनी घर भएका पराजुलीका बुबाआमाले पनि टेलिभिजनबाट विमान दुर्घटना भएको खबर थाहा पाएपछि फोन गरे।
‘अब जुम्ला नजानू, जानु पर्दैन’, पत्नी एलिनाले भनेको भन्यै छिन्, ‘ज्यानभन्दा ठूलो जागिर होइन।’ परिवार र आफन्तले भनेपछि आफूलाई पनि ज्यानको माया लाग्दै गएको उनले बताए। तर जागिर खाएपछि आफूले भनेको जस्तो मात्रै कहाँ हुन्छ र?
‘हुनत अरू विक ल्प पनि थिए तर मैले नै जुम्ला रोजेको हुँ’, उनले भने। उनले माघ २० गतेकै लागि टिकट काट्ने खोजे पनि नपाएपछि माघ २६ गतेको टिकट काटेका थिए। त्यतिबेला पनि कामले नभ्याएपछि फागुन ४ गतेका लागि काटेका थिए।
२०५४ सालमा नाम्चेस्थित सगरमाथा राष्ट्रिय निकुञ्जमा लेखापाल पदबाट जागिर सुरु गरेका उनी धेरैपटक नेपाल वायुसेवा निगमको विमानमा उडिसकेका छन्। अब उनी फागुन १३ गते तारा एअरको विमानबाट जुम्ला जाने तयारीमा छन्।

मिति : २०७० फागुन ११, आइतबार [4898 पटक पढिएको]

No comments:

Post a Comment