Saturday, February 15, 2014

धोबीखोला सफाइ अभियान सुरु

काठमाडौंको मध्यभाग भएर बग्ने धोबीखोला सफाइमा जुटेका अभियन्ता।
काठमाडौंको मध्यभाग भएर बग्ने धोबीखोला सफाइमा जुटेका अभियन्ता।
काठमाडौं : काठमाडौं महानगरपालिकाको मध्यभागबाट बग्ने धोबीखोला सरसफाइ अभियान सुरु भएको छ।
सय सातासम्म निरन्तर चल्ने अभियानको सुरुआत धोबीखोला (रुद्रमती) ले छोएका क्षेत्रका सभासद्हरू प्रकाशमान सिंह, नरहरि आचार्य, रामहरि फुयाल र गगन थापाले शनिबार गरे।
पहिलो दिन कपन गाविसमा पर्ने पाथीभरा टोल, महानगरपालिकामा पर्ने सुकेधारा र सरस्वतीनगरको संगम स्थानबाट धोबीखोला सफाइ अभियान थालिएको हो।
अभियान कपनदेखि शंखमुलसम्म केन्द्रित हुनेछ। १० किलोमिटर लामो धोबीखोला शंखमुल पुगेपछि बागमतीमा मिसिन्छ। विभिन्न संघसंस्थाको सहयोगमा ४० सातादेखि बागमती र २० सातादेखि विष्णुमती सफाइ अभियान चलिरहेको छ।
‘धोबिखोला सफा नगरे अरु दुई नदीको अवस्था पनि त्यस्तै हुने डरले अभियान थालिएको हो’, महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले भने। धोबीखोलाबाट करिब तीन हजार मेट्रिक टन फोहोर उठाउने योजना छ।
धोबीखोलाको मुहान सफा गर्न कपन, महांकाल र चपलीभद्रकाली गाविसले पनि अभियान चलाउनुपर्नेछ। अर्यालका अनुसार फोहोर सफाइपछि तीन गाविसबाट बगेर आउने फोहोर छेक्न बाँसको पातलो टाटी लगाइनेछ।
धोबी खोला महानगरपालिकाको वडा ४, ५, ७, ८, ९, १०, ११, ३२ र ३३ गरी ९ वटा वडा भएर बग्छ। सभासद् थापाले फोहोर सफाइ गरे पनि ढल मिसाउन काम नरोके अभियान सार्थक नहुने बताए।
सिंहले नदी सफा बनाउन स्थानीय बासिन्दा सचेत हुनुपर्ने बताए। फुयालले नदीमा फोहोर फाल्नेलाई दण्ड र सफा गर्नेलाई पुरस्कृत गर्ने परम्परा बसाल्न सुझाउ दिए।
आचार्यले राजधानीका सबै नदी सफा गरेपछि मात्रै काठमाडौंको सुन्दरता फर्काउन सकिने बताए। सफाइ अभियानको संयोजन सम्बन्धित क्षेत्रमा सम्बन्धित वडा कार्यालयले गर्नेछन्। अभियानमा विभिन्न संघसंस्थाको पनि सहभागिता रहनेछ।
सफाइ अभियन्ताले शनिबार सय मिटर क्षेत्रफलको मुख्य फोहोर निकालेका थिए। सामुदायिक सेवा समिति चाबहिलका अध्यक्ष विमल होडाले २०४६ पछि नगर विकासले घडेरी विकास गर्न थालेपछि खोला प्रदूषित हुन थालेको बताए।
उनले भने, ‘पहिले पौडी खेल्थ्यौं, माछा माथ्र्यौं। यो सुन्दा कथाजस्तो लाग्ला।’

मिति : २०७० फागुन ४, आइतबार

No comments:

Post a Comment