Sunday, February 23, 2014

जोगीसँग फोटो खिचेको हजार रुपैयाँ


काठमाडौं : पशुपतिमा भेटिने जोगीसँग फोटो खिचेको मूल्य कति होला? १०, २०, ५० वा सय रुपैयाँ। तर, शनिबार जोगीसँग फोटो खिच्नेले एक हजार रुपैयाँसम्म तिरेका छन्। पन्ध्र शिवालयमा बसेका जोगीसँग फोटो खिचेबापत दुई जापानी युवतीले स्वेच्छाले एक/एक हजार रुपैयाँ दिएका हुन्।
जोगीसँग फोटो खिचाउँदै जापानी युवती
जोगीसँग फोटो खिचाउँदै जापानी युवती
केही दिनदेखि महाशिवरात्रिका लागि भारतबाट समेत पशुपतिनाथ मन्दिर आएका जोगीसँग फोटो खिच्ने लहर छ। फोटो खिच्नेमा विदेशी धेरै छन्। २२/२५ वर्षका देखिने ती जापानी युवतीले गंगादास नामका बाबाको दुई मिटर लामो कपाल शरीरमा बेरेर पालैपालो फोटो खिचेका थिए।
३२ वर्षदेखि राममन्दिरमा बस्दै आएको बताउने गंगादासले फोटो खिचाउनेहरूले खुसी भएर रुपैयाँ दिएको बताए। ६० वर्षीय उनले १० वर्षको उमेरदेखि कपाल र दाह्री पालेको बताए। उनको दाह्री डेढ मिटर लामो छ।
'कतिले पाँच कतिले १० रुपैयाँ दिन्छन्, कति त फोटो खिचेर भाग्छन्', उनले भने, 'खिचेर देशविदेश लैजान्छन्, कतिले पूजा गर्छु भन्छन् कतिले पोस्टर बनाएर बेच्छु भन्छन्।' कपाल र दाह्रीकै कारण सुटिङका लागि गोसाइँकुण्डसम्म पुगेको उनको भनाइ छ।
आर्यघाटको पूर्वपट्टि अनुहारमा रङरोगन गरेका अर्का बाबासँग पनि फोटो खिच्नेहरू भेटिए। बाराबाट आएका ७२ वर्षीय हरिहर गिरीसँगै सिरहाबाट आएका ६५ वर्षीय विक्रु दास पनि थिए। त्रिशूल बोकेका गिरीले अनुहार मजैले रंगाएका थिए।
नागफेनी बोकेका दासले पनि अनुहारमा रङ दलेका थिए। गिरीले भने, 'अनुहार रंगाउन डेढ घन्टा लाग्छ। आकर्षक भएपछि मान्छे आउँछन्।' गिरी र दासको हाउभाउ देखेर एक जोडी विदेशी छेउमा आए। युवतीले नेपाली ५० रुपैयाँ र १० को अमेरिकी डलर दुवै जोगीलाई दिइन्। अनुमति लिएर उनीहरूले फोटो खिचे।
चीनबाट आएको बताउने लिन र लुसीको त्यो जोडीले त्यसपछि जोगीको बीचमा बसेर पालैपालो फोटो खिचाए। लिनले अंग्रेजी भाषामा भने, 'म फोटोग्राफर हुँ, चिनियाँ ट्राभल म्यागजिनमा काम गर्छु।' पैसा तिरेर फोटो खिचेको देखेपछि अर्का एक जोगी पनि छेवैमा आएर बसे। पशुपतिनाथको आशीर्वाद लिन आएका गिरी र दासले भने, 'साधुको दर्शन गरेर आशीर्वाद लिए भक्तको पनि जीवन सुखी हुन्छ।'
पशुपति वृद्धाश्रमअगाडि एक जोगी हनुमानको मुखुन्डो लगाएर गदा बोकेर उभिएका थिए। उनीसँग फोटो खिच्ने पनि स्वदेशी र विदेशी दुवै थिए। फोटो खिचेपछि गौशालाकी सुषमा कार्कीले भनिन्, 'साधुसँगको फोटो एउटा मेमोरीका लागि मात्र हो।' ती जोगीले भने, 'फोटो खिचेपछि पैसा माग्नु भएन तर हाम्रो कमाइका लागि यो अवसर पनि हो। यहाँ बस्न पाए पनि खानु त पर्‍यो नि।'

मिति : २०७० फागुन ११, आइतबार

No comments:

Post a Comment